Logo

मोरङ व्यापार ट्रेड एक्स्पो चैत १८ देखि, ३ लाखले अवलोकन गर्ने आयोजकको अपेक्षा

                     
Logo 2022-03-09 09:03     Desk

13

विराटनगर, २५ फागुन । मोरङ व्यापार संघले स्वदेशी उत्पादन प्रवर्द्धन गर्न ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’ २०२२ आयोजना गर्ने भएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघले आगामी चैत १८ देखि २६ गते विराटनगरमा आयोजना हुने एक्स्पो आकर्षक र भव्य  हुने जानकारी गराएको छ ।

संघका अध्यक्ष नवीन रिजालले एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगको अतिरिक्त मुलुकभरिका महत्व झल्किने कला संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, खजिन्य, कृषिजन्य तथा औद्योगिक उत्पादनको प्रदर्शनी हुने जानकारी दिए । उनका अनुसार भारत, बङ्गलादेश, पाकिस्तानलगायतका देशका उत्पादिन वस्तु पनि एक्सपोमा रहेनछन् ।

एक्सपोका अवसरमा स्वदेशी तथा विदेशी लगानीको सम्भावनाबारे छलफल गर्ने रिजालको भनाइ छ ।

प्रविधियुक्त वातानुकूलित र कुलरसहित सञ्चालन हुने एक्स्पोमा २७५ वटा स्टल रहने एक्स्पो संयोजक  विकास कुमार बेगवानीले बताए । एक्स्पोमा वातानुकूलित ८०, कुलरसहितको ६० र साधारण १०६ वटा स्टल रहने संयोजक बेगवानीले जानकारी दिए ।

एक्स्पोलाई थप आकर्षक बनाउन जिपलाइन, रिभर्स बन्जी, जिप साइकलिङलगायत साहसिक खेलकुद र सेल्फी जोन पनि रहनेछ । आन्तरिक र बाह्य पर्यटक भित्र्याउन आयोजकले यस वर्ष मेलामा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सम्पदाका नमूना (लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल आदी) मुख्य आकर्षण रहने संयोजक बेगवानीले बताए । एक्स्पो अवधिभर ख्यातिप्राप्त राष्ट्रिय र स्थानीय कलाकारबाट साङ्गीतिक कार्यक्रम हुनेछ ।

एक्स्पो सञ्चालनका लागि ३ करोड खर्च लाग्ने अनुमान गरिएको छ भने ४० देखि ४५ करोडको कारोबार गर्ने लक्ष्य राखेको मेला संयोजक बेगवानीले जानकारी दिए । यस पटकको एक्स्पोमा स्वदेशी र भारतीयसहित ३ लाख दर्शकले अवलोकन गर्ने विश्वास आयोजकले गरेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?