Logo

आजको लडाइँ परमादेशीसँग हो:ओली

                     
Logo 2022-03-08 03:03     Desk

13

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको गठबन्धनलाई असत्य शक्तिको संज्ञा दिएका छन् ।

एमाले गण्डकी प्रदेश कमिटीले मंगलबार पोखरामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आजको लडाइँ जनादेश र परमादेशबीच भएको बताए । महभारत युद्धका किस्सा सुनाउँदै वर्तमान परिवेशमा असत्य शक्तिको प्रतिनिधित्व अदालतको आदेशबाट बनेको सरकारले गरेको बताए ।

`हामी आज असत्यकाविरुद्ध लड्नु छ । सत्य र असत्यबीचको लडाइँ कहिले राम र रावण, कहिले पाण्डव र कौरवबीच हुन्छ, कहिले कृष्ण र कंशबीच हुन्छ,´ उनले भने, `आजको सत्य र असत्यबीचको लडाइँ परमादेशी र जनादेशीबीच हो । असत्यको प्रतिनिधित्व गर्ने शक्ति परमादेशी हुन् । जनताका लागि काम गर्न खोज्ने र आफ्ना स्वार्थका लागि काम गर्न खोज्नेबीच आजको लडाइँ छ ।´

अध्यक्ष ओलीले पार्टीमा आवद्ध युवालाई विकासका अभियन्ता बनाउने योजना सुनाए । उनले एमालेमा आवद्ध युवालाई जनताका काममा प्रयोग गर्ने बताए । `हामी हाम्रा युवालाई राष्ट्र निर्माणका काममा, विकास, सामाजिक न्यायका काममा विकासका अभियन्ताका रूपमा प्रयोग गर्छौं । उनीहरूको सदुपयोग गर्छौं, दुरुपयोग गर्दैनौँ,´ अध्यक्ष ओलीले भने, `पार्टीले हामीलाई दुरुपयोग गर्छ भनेर चिन्ता गर्नुपर्दैन । पवित्र काम र पवित्र उद्देश्यका लागि मात्र प्रयोग गर्छ ।´

देशको सार्वभौमसत्ताको रक्षा गर्नु एमालेको नीति भएको उनले बताए । देशलाई नोक्सान पर्ने व्यवहार, लेनदेन र क्रियाकलाप एमालेले नगर्ने अध्यक्ष ओलीको दाबी थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?