Logo

आयल निगमलाई तेल किन्न सवा ४ अर्ब दिइने

                     
Logo 2022-03-07 08:03     Desk

13

सरकारले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको खरिदका लागि ४ अर्ब २५ करोड रूपैयाँ उपलब्ध गराउने भएको छ ।

मूल्य स्थिरीकरण कोषको आज बसेको बैठकले निगमले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्नुपर्ने पहिलो किस्ता बापतका लागि नपुग ४ अर्ब २५ करोड उपलब्ध गराउने निर्णय गरेको हो ।

गत बिहीबार पेट्रोलियम पदार्थको मूल्य समायोजनपश्चात पनि १५ दिनमा करिब २ अर्ब ५० करोड घाटा रहेको निगमले जनाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि खरिद मूल्य बढेर घाटा बढ्दै गएको निगमको भनाइ छ ।

निगमले आईओसीलाई मार्च महिनामा बुझाउनुपर्ने पहिलो किस्ता बापतको रकम अपुग भएपछि मूल्य स्थिरीकरण कोषबाट नपुग रकम उपलब्ध गराउन माग गरेको थियो । निगमले प्रत्येक महिनाको ८ र २३ तारिखका दिन आईओसीलाई किस्ता बुझाउँदै आएको छ ।

यसअघि स्थिरीकरण कोषबाट गत जनवरी महिनामा निगमलाई १ अर्ब ८० करोड उपलब्ध गराइएको थियो । निगमलाई रकम उपलब्ध गराउने सरकारको निर्णयबाट पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाइराख्न मद्दत पुग्ने प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

 

 


लोकप्रिय छुटाउनुभयो कि ?