
काठमाडौं, ११ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार राष्ट्र र जनताको सरोकारका सवालमा अनुत्तरदायी रहेको आरोप लगाएको छ । एमालेको केन्द्रीय सल्लाहकार परिषद्ले मंगलबार विज्ञप्ति गरी पाँच दलीय गठबन्धन सरकार राष्ट्र र जनताको सरोकारका सवालमा अनुत्तरदायी रहेको आरोप लगाएको हो ।
'यतिखेर देशमा गठबन्धनको सरकार छ । यो राष्ट्र र जनताको सरोकारका सवालमा ज्यादा अनुत्तरदायी छ,' सल्लाहकार परिषद् अध्यक्ष अमृत कुमार बोहराले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'राज्यका सबै अंगहरू प्रायः अस्तव्यस्त छन् । आम जनता महँगीको चर्को मार खेप्न बाध्य छन् । कोरोनाको खोपसम्म राम्ररी दिनसकेको छैन । खोपमा अपचलन भएका कुराहरू आइरहेका छन् । औषधिका नाममा सिटामोलजस्तो सामान्य औषधि समेत नागरिकले राम्ररी पाउन सकेका छैनन् ।'
एमालेले सरकार जनतालाई राहत सुविधा दिनुभन्दा एमालेविरुद्धको षड्यन्त्रमा केन्द्रित रहेको टिप्पणी गरेको छ । सरकार एमालेविरुद्ध लागेकाले राजनीतिक र वैचारिक रूपमा अझ सक्रिय बन्न जरुरी रहेको बोहराले बताएका छन् । 'विरोधीहरूले फैलाएको भ्रमहरूलाई चिर्दै पार्टीको आन्तरिक एकतालाई सुदृढ पार्न बढी केन्द्रित बन्नुपर्दछ,'विज्ञप्तिमा भनिएको छ ।
पार्टीलाई सबैखाले अवसरवाद र अराजक प्रवृतिबाट मुक्त गर्दै खदिलो एकताका साथ वैज्ञानिक समाजवादको आधार निर्माण गर्ने बाटोमा दृढतापूर्वक लाग्नुपर्ने बोहराले बताएका छन् ।