
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेसँगै प्रदेश–२ का भारतीय सीमानाकामा कडाइ गरिएको छ।
छिमेकी राष्ट्र भारतमा दैनिक हजारांैको संख्यामा संक्रमित देखा परेपछि त्यसको असर नेपालमा पर्न सक्ने भन्दै सुरक्षा निकायहरूले सीमानाकामा कडाइ गरेका हुन्।
प्रत्येक नाकामा हेल्प डेस्क राखेर एन्टिजेनलगायतका प्रविधिबाट कोरोना पहिचान गर्ने र पोजेटिभ देखिए तत्काल स्वास्थ्य चौकीमा पठाइने गरेको सशस्त्र प्रहरी बल प्रदेश–२ का प्रमुख गणेश ठाडामगरले जानकारी दिए। अहिले प्रहरी कै सक्रियतामा स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीहरूको सहजिकरणमा पालिकाहरूमा हेल्प डेस्कसमेत सञ्चालन भैइरहेको छ। प्रदेश–२ को बाराबाहेकका सबै जिल्लामा भन्सार कार्यालय छन् भने करिब चार सय ६४ किलोमिटरमा भारतसँग खुला सीमा जोडिएको छ।
ओमिक्रोन भाइरसको जोखिम बढनुका साथै संक्रमितहरू समेत दैनिक वृद्धि हुनुले नेपाल पनि यसको ‘हटस्पट’ बन्न सक्ने विज्ञहरूको चिन्ता छ। डब्लुएचओले समेत सावधानी अपनाउन चेतावनी दिइरहेको बेला नेपालमा सरकारी तवरबाट रोकथामका लागि खासै योजना निर्माण हुन सकेको छैन।
सुरक्षा निकायसँग पर्याप्त जनशक्ति भए पनि प्राविधिक कारणले प्रभावकारी परिचालन हुन नसकेको र यसको लागि स्थानीय, प्रदेश र संघीय सरकारले छुट्टै योजना बनाउनु पर्ने सशस्त्र प्रहरी बलका अधिकारीहरूको सुझाव छ।
सबैभन्दा धेरै भन्सार कार्यालय र खुल्ला नाका प्रदेश–२ मै छन्। आठ वटा जिल्लामा ३३ वटा भन्सार कार्यालय, चार सय १४ किलोमिटर मुख्य सडक, दुई सय २९ किलोमीटर मोटरबाटो र करिब पाँच सय ५७ ठाउँका गल्लीवाट नेपाल–भारत आवतजावत हुन्छ।
यति धेरै सम्पर्क स्थानबाट मानिसको सहजै र बाक्लो आवतजावत हुने भए पनि सम्बन्धित निकायवाट बेवास्ता हुनुलाई सर्वसाधारणले संसयपूर्ण ढङ्गले हेरेका छन्।
प्रमुख जिल्ला अधिकारीले पनि यी विषयमा खासै योजना बनाउन नसकेको स्थानीयको आरोप छ। यद्यपि, आइतवार बैठक बसेर नयाँ योजना बनाउने सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको भनाइ छ।
महोत्तरीस्थित प्रमुख जिल्ला अधिकारी बासुदेव बरालले महोत्तरीसहित प्रदेश–२ का जिल्लामा खुला सीमाका कारण सजगता अपनाउनु पर्ने बाध्यता रहेको बताए। आइतबार सबै निकायहरूसँग बैठक बसेर रोकथाम तथा न्यूनीकरणका लागि योजना बनाउने उनले जानकारी दिए। प्रदेश–२ अन्तर्गतका जिल्लाका खुला सीमाना तथा भन्सारमा मात्र कडाइ गरे कोरोना भाइरसको जोखिमलाई केही हदसम्म न्यूनीकरण गर्न सकिने विज्ञहरूले सुझाव दिँदै आएका छन्। विशाल बस्नेत