Logo

जन्मसिद्ध र एकल आमाका सन्तानलाई नागरिकता दिन माग

                     
Logo 2022-01-06 03:01     Prabesh Bishta

13

काठमाडौं, २२ पुस । जन्मसिद्ध र एकल आमाका सन्तानहरूलाई नागरिकता दिन माग गरिएको छ ।

जन्मसिद्ध र एकल आमाका सन्तानहरूले नागरिकता नपाउँदा समस्या परेको भन्दै ई.इन्द्रजित साफीले नागरिकता दिन सरकारसँग माग गरिएको छ । सहज रूपमा नागरिकता पाउने व्यवस्था नगरिए आगामी २५ गतेदेखि आफ्नो अधिकार र पहिचानको लागि राष्ट्रियस्तरको आन्दोलन गर्ने पनि उनले बताएका छन् ।

उनले जबसम्म माग पूरा हुँदैन त्यत्तिबेलासम्म आन्दोलन जारी रहने पनि बताएका छन् । आफूहरूको अन्तिम नारा ‘आफ्नो बुवा आमाले नागरिकता पाइसके, कि त हामीलाई मारीदिनुहोस् कि त नागरिकता दिनुहोस् । होइन भने हामी कुन देशका नागरिक हो उतै पठाइदिनुहोस्’ रहेको उनको भनाइ छ । उनले एकपटक आफ्नो ठाउँमा उभिएर सोच्न पनि सरकारलाई आग्रह गरेका छन् ।

ई.साफीले जुन आमाले ९ महिना कोखमा राखेर जन्माएको बच्चालाई उही आमाको नामबाट नागरिकता दिन नसकेकोमा सरकारप्रति गुनासो गरे । ६ लाख ८० हजार भन्दा धेरै युवाहरूले आजसम्म नागरिकता नपाएको समेत उनले उल्लेख गरे । अहिलेसम्म ज–जसले नागरिकता पाएका छन् उनीहरूले मात्र कसरी पाए ? यसको उत्तर सरकारले आफुहरूलाई दिनपर्ने उनको भनाई थियो ।

उनले मोटरसाइकलको लाइसेन्स, जग्गा पास गर्न, बैंक खाता खोल्न, सिमकार्ड लिन पनि नागरिकता आवश्यक हुने भएकोले नागरिकता नभएकै कारण धेरै समस्या पाइरहेको सुनाए । उनले भने, ‘सरकारले कि तँ नेपाली होइन भन्नुपर्यो होइन भने नागरिकता दिन पर्यो । यसरी आफ्ना नागरिकहरूलाई समस्यामा राख्न भएन ।’

ई.साफीले जन्मसिद्ध र एकल आमाका सन्तानहरूलाई नागरिकता दिन माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापनपत्र बुझाएको बताए । गृहमन्त्री बालकृष्ण खाँडलाई ज्ञापनपत्र बुझाएको पनि उनले जानकारी दिए । उनले नागरिकताबाट बन्चित भएका धेरै पीडितको संख्या रहेको उल्लेख गर्दै लाखौं युवाहरूको नागरिकता नपाएर जिन्दगी बरबाद भइरहेको जिकिर गरेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?