
खोटाङको जन्तेढुंगा गाउँपालिका-५ चिसापानीकी ६ वर्षीय मुटुरोगी सिर्जना पौडेललाई चन्दा उठाएर अस्पताल पुर्याइएको छ। अतिविपन्न परिवारकी मुटुरोगी बालिकालाई शुभेच्छुक तथा आफन्तको आर्थिक सहयोगमा उपचारका लागि काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी भर्ना गरिएको हो।
बालिकाको मुटुमा दुईवटा प्वाल भएकाले शल्यक्रिया गर्नुपर्ने देखिएको ‘मुटुरोगी सिर्जना पौडेल उपचार तथा बचाउ’ अभियान सञ्चालन गरिरहेका कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए।
ज्वरोको समस्याले थलिएपछि गत २८ असारमा नोबेल अस्पताल विराटनगर पुर्याइएपछि बालिकालाई मुटुको रोग भएको पुष्टि भएको हो।
आफ्नो घर जग्गा नभएका तथा छाप्रो बनाएर बसिरहेका पौडेल परिवारकी बालिकालाई आफन्त तथा शुभेच्छुकबाट संकलन गरिएको ४० हजार खर्चमा विराटनगर लगिएको थियो।
सिर्जनाको मुटुको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिए पनि उमेरअनुसार तौल नहुँदा तीन महिनापछि शल्यक्रिया गर्ने तयारी गरिएको छ। उनको तौल हाल साढे १२ केजी मात्र छ।