
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ ।



फिफाले हिजो बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९औँ स्थानमा छ । गत महिनाको वरीयतामा पनि नेपाल सोही स्थानमा थियो ।
नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा पनि तेस्रो स्थानमा यथावत छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स छन् । भारत १०४औं स्थानमा तथा माल्दिभ्स १५७औँ स्थानमा रहेका छन् ।
नेपालभन्दा पछि भुटान (१८५), बंगलादेश (१८६), पाकिस्तान (१९८) र श्रीलंका (२०४) औं स्थानमा छन् । एसियाको वरियतामा इरान, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया र कतार शीर्ष पाँचमा छन् ।
नयाँ वरीयतामा बेल्जियम पनि शीर्षस्थानमा यथावत रहेको छ । बेल्जियम लगातार चौथो वर्ष शीर्ष स्थानमा रहन सफल भएको हो । यस्तै, ब्राजिल दोस्रो तथा फ्रान्स तेस्रो स्थानमा रहँदा इंल्यान्ड चौथो स्थानमा छ ।
पाँचौँमा अर्जेन्टिना आउँदा इटाली छैटौँ स्थानमा छ । स्पेन, पोर्चुगल, डेनमार्क र नेदरल्यान्ड्स क्रमशः छैटौंदेखि शीर्ष १० मा अटाएका छन् । यसमा कुनै परिवर्तन भएको छैन ।