Logo

गृहजिल्लामै घेराबन्दीमा परे शेखर कोइराला, डिकबहादुरलाई हराउन मोर्चाबन्दी

                     
Logo 2021-11-30 11:11     Prabesh Bishta

13

विराटनगर : मोरङमा नेपाली काङ्ग्रेसको दोस्रो चरणको निर्वाचन आज हुँदै छ । १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार रहेका शेखर कोइरालाको गृहजिल्ला मै उनी कमजोर बन्दै गएका छन् । कोइराला निकट मानिएका जिल्ला नेताहरु धमाधम देउवा पक्षका उम्मेदवार जिताउन लागि परेका छन् ।

शेखर कोइराला पक्षलाई हराउन मोरङमा संस्थापन इतर समूहका नेताहरु नै खुलेर लागि परेका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगायतले संस्थापन पक्षका उम्मेदवार दिलीप गच्छदारलाई जिताउन मोर्चाबन्दी गरेका छन् ।

शेखर कोइरालालाई गृह जिल्ला मोरङमा नै कमजोर पारेको सन्देश दिन नेताहरू एकै ठाँउमा उभिएको जिल्ला सदस्यका लागि उम्मेदवार रहेका एक नेताले बताए ।

कोइराला निकटका मोरङ जिल्ला सभापतिका उम्मेदवार डिगबहादुर लिम्बुलाई पराजित गर्न संस्थापन इतर पक्षका नेताहरूरु एकै ठाउँमा उभिएर दिलीप गच्छदारलाई अघि बढाएका छन् ।

पहिलो चरणमा सम्पन्न मोरङ कांग्रेसको निर्वाचनमा संस्थापन इतर समूहबाट निवर्तमान सभापति डीगबहादुर लिम्बु र पूर्वसचिव यदु विष्ट र संस्थापन पक्षका दिलीप गच्छदार उम्मेदवार थिए। जसमा लिम्बुले सर्वाधिक १५ सय ४४, गच्छदारले ११ सय ६६ र विष्टले ५ सय ६३ मत ल्याएका थिए ।

कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज मंगलबार पुनः मतदान हुँदैछ। दोस्रो चरणको मतदानको पूर्वसन्ध्यामा पौडेल, शशांक, सिंह, सिटौलालगायतका नेताहरू निकटका जिल्ला नेतासँगै विष्टले सोमबार साँझ पत्रकार सम्मेलन गरी गच्छदारलाई समर्थन गरेको घोष्णा गरेका छन् ।

विराटनगर महानगरका मेयर भीम पराजुली पनि शेखर कोइरालाको साथ छोडेर सिटौलाको क्याम्पमा गई गच्छदारलाई समर्थन गरेका छन् । सिंह निकट राजु मास्केले पनि गच्छदारलाई समर्थन गरेका हुन्न् ।

नेताहरूले गुट परिवर्तन गरेपछि मोरङ कांग्रेसको जिल्ला अधिवेशन पेचिलो बनेको छ । यसले मोरङको जिल्ला सभापतिको निर्वाचन रोचक पनि बनेको छ ।

लिम्बू र गच्छदारबीच कडा प्रतिस्पर्धाको परिस्थिति निर्माण भएको छ । शेखर कोइरालालाई आफ्नो राजनीति शाख जोगाउन लिम्बुलाई जस्तोसुकै जोखिम मोलेर भए पनि जिताउनुको विकल्प छैन । गच्छदारलाई समर्थन गर्ने जिल्लाका नेताहरूलाई पनि आआफ्नो राजनीति जोगाउन चुनौति थपिएको छ ।

पराजुलीले जिल्ला सभापतिमा लिम्बु असफल भएकाले गच्छदारलाई रोज्न बाध्य भएको बताए । तर, केन्द्रीय निर्वाचनमा शेखर कोइरालाको साथ नछोड्ने प्रतिक्रिया उनले दिएका छन् । विष्टले गरेको पत्रकार सम्मेलनमा भाग लिएका उनले जिल्लामा पात्र मात्रै परिवर्तन गरेको बताएका छन् ।

विष्टको पत्रकार सम्मेलन नसकिँदै शेखर कोइरला निकट प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पत्रकारसँग कुराकानि गर्दै गच्छदारलाई चुनाव जिताउन संस्थापन पक्षले पैसाको चलखेल गरेको समेत आरोप लगाए। आफू कोइराला क्याम्प नछाडेको उनले घोषणा गरे ।


लोकप्रिय छुटाउनुभयो कि ?