Logo

विराटनगरका मेयर पराजुलीलाई आफ्नै पार्टीका नेताहरुको असहयोग, तीन वटा आकाशे पुल निर्माणको काम रोकियो

                     
Logo 2021-11-24 04:11     Hamro Biratnagar

विराटनगर, ८ मंसिर । स्थानीयको बखेडका कारण विराटनगरमा आकाशे पुल निर्माण कार्य रोकिएको छ । आफ्नो घर–जग्गा अगाडी आकाशे पुल नबनाउँनु भन्दै स्थानीयले बखेडाका कारण निर्माण कार्य अलपत्र परेको हो ।

विराटनगरको कञ्चनबारी, बरगाछी र वसपार्क नजिकै तीन स्थानमा आकाशे पुल निर्माणका लागि महानगरले शिलान्यास गरेको थियो । गत वैशाखमा ठेक्का लागेर काम समेत सुरु भइसकेको थियो । तर, जनप्रतिनिसमेत रहेका केही स्थानीय जग्गा धनीले नबनाउन दबाब दिएपछि निर्माण कार्य रोकिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

करिब २ करोड ७० लाख रुपैयाँ बजेटमा निर्माण हुने आकाश पुलका लागि विराटनगरको कला विल्डर्सले दुई र आरके विल्डर्सले एउटा ठेक्का पाएका छन् ।

विराटनगर महानगरपालिकाका इन्जीनियर अर्जुन थापाका अनुसार सम्झौता बमोजिम एक वर्षभित्र आकाशे पुल निर्माण सम्पन्न भइसक्नुपर्ने छ । तर, ठेक्का सम्झौता भएको ६ महिनासम्म पनि आकाशे पुल निर्माण कार्यले गति लिन नसकेको हो । ‘ती ठाउँहरुमा विवाद आएर काम अड्कीएको हो ।’ इन्जीनियर थापाले हाम्रो विराटनगरसँग भने,‘घर जग्गा छेलिन्छ भनेर स्थानीयले अवरोध गरिरहनु भएको छ । महानगरबाट विवाद समाधान गरि काम अगाढी बढाउने प्रयास भइरहेको छ ।’

कञ्चनबारीमा प्रदेश सांसदसमेत रहेका नेपाली कांग्रेसका नेता चुमनारायण तबदारसहितका स्थानीयले आफ्नो घरअघि आकाशे पुल नबनाउ दबाब दिँदै आएका छन् ।

त्यस्तै विराटनगर बसपार्क नजिकै नजिकै नेपाली कांग्रेस मोरङका सचिव समेत रहेका नागेश कोइरालाले आफ्नो जग्गा अगाडी नबनाउनु भन्दै काम रोक्न लगाएका हुन् । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली नेपाली कांग्रेसबाट निर्वाचित हुन् । तर, उनलाई आकाशे पुल निर्माणमा भने आफ्नै पार्टीका नेताहरुले असहयोग गरेका हुन् ।

कञ्चनबारी र बसपार्क छेउमा कांग्रेस नेताहरुले अवरोध गरेपछि बरगाछीका स्थानीयले पनि घर अगाडि नबनाउनु भन्दै निवेदननै दिएको महानगरपालिकाले जनाएको छ ।

विराटनगर महानगरका मेयर भीम पराजुलीले आकाशे पुल सवैलाई चाहिएको भएपनि स्थानीयले आफ्नो घर अगाडी नबनाउनु भनेर दबाब दिएको बताए ।

‘भोल्टेज कम भएका कारण ट्रान्सफर्मर चाहीएको छ । तर, मेरो घर होइन छिमेकीको अगाडी लगाइदिनु भन्ने खालको कुरा आयो ।’ मेयर पराजुलीले हाम्रो विराटनगरसँग भने,‘आकाशे पुल सवैलाई चाहिएको छ, तर आफ्नो घर अगाडी होइन ।’

मेयर पराजुलीले उक्त समस्या समाधानका लागि एक÷दुई चरणमा वार्ता समेत भइसकेको र केही दिनमा काम सुरु हुने दावी गरे । उनले स्थानीय सँग जसरी पनि सहमति गरेर निर्माण कार्य अघि बढाइने बताए । ‘हामीले एक दुई चरण बार्ता पनि ग¥यौ ।’ उनले भने,‘दुईचार दिनमा जसरी पनि सहमत गरेर बनाउँछौँ ।’

आकाशे पुल निर्माणका क्रममा आफ्नै पार्टीका नेताहरुले असहयोग गर्नुभएको हो ? भन्ने हाम्रो विराटनगरको प्रश्नमा मेयर पराजुलीले भने,‘कुरा भइरहेको छ । अब मिल्छ, उहाँहरुले पनि मान्नु हुन्छ ।’

मेयर पराजुलीले तीनै स्थानमा आकाशे पुल निर्माणका लागि शिलन्यास गरेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?