Logo

नेपाल बन्दको असरः भोलि विराटनगरका शिक्षण संस्थाहरु पनि बन्द रहने

                     
Logo 2021-11-15 09:11     Hamro Biratnagar

विराटनगर, २९ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार देशभर नेपाल बन्दको घोषणा गरेको छ । पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुमा गरिएको मूल्यवृद्धिकोविरुद्धमा सो पार्टीले मंगलबार नेपाल बन्दको घोषणा गरेको हो । घोषित नेपाल बन्दका कारण शिक्षण क्षेत्रहरु पनि प्रभावित भएका छन् ।

‘विप्लव’ नेतृत्वको पार्टीले घोषणा गरेको बन्दको प्रभाव प्रदेश १ को राजधानी विराटनगरका शिक्षण संस्थाहरुमा पनि परेको हो । घोषित बन्दका कारण मंगलबार विराटनगरका शिक्षण संस्थाहरु पनि बन्द रहने भएका छन् ।

विराटनगरका कलेजहरुले मंगलबार कलेज बन्द रहने सुचनानै निकालेका छन् । विराटनगरको मेरिल्याण्ड कलेजले सामाजिक सञ्जाल मार्फत कलेज बन्द रहने जनाएको छ ।

विराटनगरस्थित मेरिल्याण्ड कलेजका निर्देशक नन्दु अग्रवालले नेपाल बन्दका कारण कलेज पनि बन्द रहने जानकारी दिए ।

त्यस्तै विराटनगरकै अर्किड कलेजका प्रिन्सीपल सिएम श्रेष्ठले पनि भोलि कलेज बन्द रहने बताए । ‘नेपाल बन्दको हल्लाले सवै शिक्षण संस्थाहरु पनि बन्द हुने भयो ।’ उनले भने,‘हामीले पनि भोलि बन्द गरेका छौँ ।’

बन्द सफल पार्न विप्लव नेतृत्वको पार्टीले आक्रामक तयारी गरेको छ । उसले बन्द अवज्ञा गर्नेविरुद्ध बल प्रयोग गर्ने रणनीति समेत बनाएको छ।

विप्लवको पार्टीले भोलिको बन्दलाई शक्ति प्रदर्शनका रुपमा लिएको बुझिएको छ । विप्लवले भोलिको बन्दमा सम्पूर्ण शक्ति लगाउने तयारी गरेका छन् । उनले भोलि शक्ति प्रदर्शन गरेर आफ्नो प्रभाव समेत देखाउने रणनीति बनाएको बुझिएको छ ।

विप्लवले बन्दको पर्चा समेत छर्न लगाएका छन् । विशेषगरी शहरी क्षेत्रमा पर्चा व्यापक गरेर बन्द पूर्ण रुपमा सफल बनाएर आफू मजबुत रहेको देखाउन खोजेका छन् ।

बन्दमा कुनै अप्रिय घटना हुन नदिन मंगलबार विहानैदेखि विराटनगरसहित मोरङ जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिने भएको छ । घोषित बन्दलाई बन्दलाई मध्यनजर गर्दै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने मोरङ प्रहरी प्रमुख जनाद्र्धन जिसिले हाम्रो विराटनगरलाई जानकारी दिए । ‘भोलि बिहानै देखि सवै हाइवेहरुमा केन्द्रीत हुनेछौँ । एपिएफसहितको सहितको टोली हुन्छ ।’ उनले भने,‘कुनै अप्रिय घटना हुन नदिन सयौँको संख्यामा एपिएफसहित प्रहरीको टोलि सवै हाइवेमा केन्द्रीत हुन्छ ।’

 


लोकप्रिय छुटाउनुभयो कि ?