Logo

प्रदेशमा फजुल खर्च घटाउँछौँ : मुख्यमन्त्री राजेन्द्र पाण्डे

                     
Logo 2021-11-08 07:11     Hamro Biratnagar

मकवानपुर, २२ कात्तिक : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले फजुल खर्च घटाउनेतर्फ आफुले ध्यान दिने बताउनुभएको छ । वाग्मती प्रदेशसभाको आज बसेको बैठकमा उहाँले विश्वासको मत लिन प्रस्ताव प्रस्तुत गर्ने क्रममा अनावश्यक प्रशासनिक खर्च घटाएर जनताको आर्थिक अवस्थामा सुधार हुने कार्यक्रम ल्याइने बताउनुभयो ।

बैठकमा प्रदेशसभा सदस्यहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले मौजुदा संविधान, सङ्घीयता र प्रजातन्त्रको संवद्र्धनका लागि गठबन्धनको सरकार अपरिहार्य रहेको स्पष्ट पार्नुभयो । सरकारले विभिन्न जिल्लामा पारदर्शी र निष्पक्षका साथ विकासका पूर्वाधारका लागि योजना र बजेट बाँडफाँड गरिने बताउनुभयो । मुख्यमन्त्री पाण्डेले भ्रष्टाचार नियन्त्रण गरी प्रदेशमा सुशासन कायम गरिने उल्लेख गर्नुभयो ।

गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले संविधान, संसदीय प्रजातन्त्र र सङ्घीयतालाई जीवन्त पार्न गठबन्धन दलबीच सहमति आवश्यक भएको धारणा राख्नुभएको थियो ।

बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले मौजुदा सरकारले प्रदेशको विभिन्न जिल्लाका जनतालाई प्रभाव पार्ने नीति कार्यक्रम, आर्थिक योजना र आर्थिक मितव्ययिता ल्याउने कार्यक्रम स्पष्ट नभएको आरोप लगाउनुभएको थियो । नेपाल मजदुर किसान पार्टी संसदीय दलका नेता सुरेन्द्रराज गोरसाइँले दलहरुले दलगत स्वार्थका लागि मात्र काम गरेको धारणा राख्नुभएको थियो । बैठकमा विवेकशील साझा पार्टीको संसदीय दलका नेता रमेश पौड्याल र जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता प्रेमबहादुर तामाङले समेत आफ्नो धारणा राख्नुभएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?