Logo

मोतीपुरमा लगाइएको कर्फ्यु हट्यो

                     
Logo 2021-10-13 10:10     Hamro Biratnagar

रुपन्देहीको बुटवलमा रहेकाे मोतीपुर प्रस्तावित औद्योगिक क्षेत्रमा लगाइएको कर्फ्यु हटेको छ । आइतवार चार जनाको ज्यान जाने गरी भएको झडपपछि स्थिति नियन्त्रणमा लिन यस क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो ।

स्थिति सामान्य भएपछि गएराति १२ बजेदेखि कर्फ्यु हटाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुभयो । सार्वजनिक जग्गा अतिक्रमण गरी बसेकाहरुलाई हटाउने क्रममा भएको झडपमा चार जना नागरिककाे ज्यान भएको थियो भने चार दर्जन बढी प्रहरीसहित ८० जना घाइते भएका थिए ।

चार जना प्रहरीको काठमाण्डौमा उपचार भइरहेको छ । मृतकका परिवारलाई प्रदेश सरकारले १/१ लाख दिने घोषणा गरेको छ । थप साढे ५ लाख रुपैयाँ परिवारलाई राहत प्रदान गर्न रुपन्देही प्रशासनले सङ्घीय सरकारलाई सिफारिस गरेको सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

घाइतेहरुको सरकारले नि:शुल्क उपचार गर्ने बताएको छ । मोतीपुर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोगले माग गरेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?