काठमाडौं, २३ भदौ । राष्ट्रिय जनगणना आगामी कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने भएको छ । बुधबार काठमाडौंमा केन्द्रीय तथ्यांक विभागले पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै कोरोना महामारीका कारण स्थगन गरिएको राष्ट्रिय जनगणना आगामी कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने भएको बताएको हो ।
अहिले कोरोनाको दर घटिरहेको, लकडाउनको अवस्था नरहेको र जनजीवन सामान्य रुपले चलिरहेको अवस्थालाई मध्यनजर गर्दै सरकारले राष्ट्रिय जनगणना पुनः सञ्चालन गर्ने निर्णय गरेको केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।
महानिर्देशक श्रेष्ठका अनुसार आगामी जनगणना १२ आँै शृंखलाको हुनेछ भने जनगणनामा ३९ हजार गणक, ८ हजार सुपरिवेक्षकले ७० लाख परिवार तथा ३ करोड जनसंख्याको गणना १५ दिनमा गर्नेछन् । जनगणना गर्ने कार्य जटिल भएको र यस जनगणनामा हरेकको घरदैलोमा पुगेर सम्पूर्ण घर, सम्पूर्ण परिवार र सम्पूर्ण व्यक्तिको गणना गरिने उनले बताए ।