संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या भएको छ ।
सोमबार बिहान बौद्धमान कार्कीको परिवारका ६ जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदीले जानकारी दिए ।
धारिलो हतियार प्रयोग गरी बौद्धमान कार्कीकी श्रीमती ८० वर्षीया पार्वता कार्की, उनका छोरा ५८ वर्षीय तेजबहादुर कार्की र उनकी श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना, नाती १० वर्षीय दीपक र नातिनी पाँच वर्षीया गोमाको हत्या भएको डीएसपी सुवेदीले जानकारी दिए ।
८९ वर्षीय बौद्धमान कार्की भने जीवितै भेटिएको उनले बताए । डीएसपी सुवेदीका अनुसार बिहान छिमेकीले हत्या भएको अवस्थामा देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारे सूचना पाउना साथ प्रहरीको टोली घटनास्थलतर्फ लागेको उनले बताए । ‘६ जना मृत अवस्थामा भेटिएको जानकारी पाएलगत्तै प्रहरीको टोली घटनास्थलतर्फ गएको छ,’ उनले भने, ‘हत्याबारे थप अनुसन्धान हामीले अघि बढाएका छौँ ।’