एजेन्सी, १५ भदौ ।अमेरिकाले अफगानिस्तानमा २० वर्षदेखि जारी सैन्य कारबाही सकिएकाे औपचारिक घोषणा गर्दै पूर्ण रूपमा आफ्ना फौज फिर्ता गरेको जनाएको छ ।
तोकिएको समय सीमाअनुसार नै अगस्ट ३१ का दिन आफ्नो अन्तिम सैनिक टोलीले मंगलबार बिहान काबुल छोडेको अमेरिकी सेनाले जनाएको हो ।
योसँगै सन् २००१ देखि अफगानिस्तानमा अमेरिकाले सुरु गरेको सैन्य अभियानको अन्त्य भएको छ । यस्तै विगत दुई हप्तादेखि काबुलबाट भइरहेको उद्धार कार्य पनि अन्त्य भएको अमेरिकाले उल्लेख गरेको छ ।
काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी भएका थिए ।
उक्त फौज फिर्ती अभियानको सुपरिवेक्षण गरेका जनेरल फ्र्याङ्क मकेन्जीले अमेरिकाले पछिल्ला केही सातामा झन्डै ८० हजार व्यक्तिको उद्धार गरेको बताएका छन् ।
अमेरिकी सेनाका सेन्ट्रल कमाण्डका प्रमुख जनरल मकेन्जीले भने, ‘हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टिन विमान उडेको छ । योसँगै सैन्य उद्धारको पाटोका साथै २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको छ । जुन मिसन सन् २००१ को सेप्टेम्बर ११ लगत्तै सुरु भएको थियो र जस अन्तर्गत ओसामा बिन लादेन तथा उनका थुप्रै अल कायदा षडयन्त्रकारीहरूमाथि कारबाही भएका थिए ।’
उनले अफगानिस्तानमा अमेरिकी उपस्थितिका कारण उच्च मूल्य चुकाउनुपरेको र दुई दशकमा २४ सय जना अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएको पनि बताएका छन् ।
अन्तिम अमेरिकी विमान बाहिरिएसँगै तालिबानहरूले काबुलको आकाशमा रातो प्रकाश छर्दै मेसिन गनमार्फत गोली चलाएर उत्सव मनाएका छन् ।बाहिरिन लागेका अमेरिकी फौज र तालिबानका सुरक्षा गार्डहरूबीच गाेली हानाहान समेत भएकाे बीबीसीले जनाएकाे छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अगष्ट ३१ भित्र अमेरिकाबाट फौज फिर्ता गर्ने बताएका थिए । बाइडेनले फौज फिर्तीबारे आजै अमेरिकी जनतालाई सम्बोधन गर्दैछन् ।
अन्तिम अमेरिकी फौज फर्किएपछि प्रतिक्रिया दिँदै तालिबानका एकजना प्रवक्ताले अफगानिस्तानले पूर्ण रूपमा स्वतन्त्रता हासिल गरेको बताएका छन् ।
सन् २००१ मा अल कायदाले गरेको आतंककारी आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा सैन्य अभियान सुरु गरेको थियो । उसलाई नेटो अन्तर्गतका सहयोगी राष्ट्रहरूले साथ दिएका थिए ।