काठमाडौं, १३ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरू कुनै पार्टीसँग एकता नगर्ने बताएका छन् ।
आइतबार पार्टीको संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीले तत्कालै अन्य कुनै दलसँग एकता नगर्ने प्रष्ट पारेका हुन् ।
सञ्चार माध्यममा एकीकृत समाजवादी पार्टी अन्य पार्टीसँग एकता गर्न लागेको, अरुको पार्टीमा गएर विलिन हुन लागेको भन्ने प्रचार भैरहेको भन्दै उनले त्यस्तो प्रचारमा कुनै सत्यता नभएको बताए । पार्टीको तल्लो तहसम्म पार्टीका कमिटीहरु विद्यमान रहेको भन्दै उनले पार्टी एकता नहुने स्पष्ट पारे । उनले भने – ‘अहिले नै हामी अरु कुनै पार्टीसँग एकता गर्न गइरहेका छैनौं । अरु पार्टीमा समाहित हुन लागेको भन्ने समाचार वाहियात प्रचार मात्र हो । त्यसमा कुनै सत्यता छैन ।’
अध्यक्ष नेपालले अर्थतन्त्रलाई गतिशिल, चलायमान र समृद्ध बनाउन र जनतालाई गरिबीको चक्रबाट मुक्त गर्नका लागि आफूहरुको ध्यान केन्द्रित हुने बताए । उनले पार्टीमा युवाहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएर अगाडि बढाउन तयार रहेको पनि बताए ।
उनले आफूहरु मार्क्सवादबाट निर्देशित भएर वर्गीय दृष्टिकोण आत्मसात गर्दै अघि बढ्ने बताउँदै नेता, कार्यकर्ताहरुले दृष्टिकोणमा विचलन आउन नदिन र गैर सर्वहारा प्रवृति हटाउन विशेष ध्यान दिनुपर्ने भनाई समेत राखे ।