विराटनगर, ६ भदौ । विराटनगरमा रातको समयमा अनावश्यक हिँड्ने व्यक्तिलाई प्रहरीले कडा कारवाही गर्न थालेको छ । निषेधाज्ञाको समयमा अनावश्यक रुपमा हिँड्ने व्यक्तिहरु माथि प्रहरी कडा कारवाहीमा उत्रेको हो ।
निषेधाज्ञा उल्लंघन गर्दै गत भदौ २ गते साथीको बर्थडे पार्टीमा पुगेर आउँदै गरेका एक युवकलाई प्रहरीले निर्घात कुटपिट गरेको छ । राति ११ बजे विराटनगर ६ स्थित भृकुटी चोकमा साथीको बर्थडे पार्टी खाएर घर फर्किँदै गरेका मोरङको जहदा गाउँपालिका ५ का मुकेश मण्डल र बिक्रम कामतलाई वडा प्रहरी (क) बाट गस्तिमा खटिएको प्रहरी टोलिले निर्घात कुटपिट गरेको पिडित मण्डलले आरोप लगाए ।
उनले प्रहरीले बुट र लाठीले अन्धाधुन्ध हिर्काएको बताए । पिडित मण्डलको शरिरका विभिन्न भागमा निलडाम र चोट छ । भृकुटी चोकका साथी श्याम रामको बर्थडे पार्टीमा पुगेर दुवैजना मोटर साईकलमा फर्कँदै गर्दा गस्तिमा रहेको प्रहरी टोलीले रोकेर कगजात मागेको र आफुले नबोकाले सोही निहुँमा निर्घात कुटपिट गरेको उनले आरोप लगाए ।
‘हामी राती करिब ११ बजे मोटर साइकलमा घर फर्किँदै थियौँ । पुलिसले चेकजाँज गरेर कागजपत्र माग्यो । मोटरसाइकल भिनाजुको भएकाले कागजपत्र थिएँन ।’ मण्डलले हाम्रो विराटनगरसँग भने,‘त्यहि निहुँदा चोर भन्दै मरणासन्न हुनेगरी कुटपिट गरे ।’
उनले आफुहरुलाई राति ११ बजेदेखि विहान ३ बजेसम्म सडकमै उभ्याएको र यातना दिएको आरोप लगाए । तर, अभिभावकको डरले हालसम्म कसैलाई सो कुरा नभनेको र आइतबार घरमा नुहाइरहेका बेला आमाले शरिरमा निलडाम भएको देखेपछि सोधपुछ गरेको बताए ।
सो कुरा अभिभावकले थाहा पाएपछि आज विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पिडित मण्डलका अभिभावकहरुले कुटपिट गर्ने प्रहरी माथि कारवाहीको माग गरेका छन् । उनीहरुले गल्ति भए कानुन बमोजिम सजाय गर्नुपर्नेमा दादागिरि शैलीमा मरणासन्न हुनेगरी कुटपिट गर्नु गलत भएको बताए ।
पिडितका बाबु राजेन्द्रप्रसाद मण्डलले प्रहरीले निर्घात कुटेर छोरा हिडडुल गर्न समेत नसक्ने अवस्थामा पुगेको बताए । यता जिल्ला प्रहरी कार्यालय मोरङले भने रातको समयमा अनावश्यक हिडडुल गर्ने माथि कडाइ गरिएको र जेक जाँचका क्रममा मोटरसाइकलको कागजपत्र पनि नभेटिएपछि सामान्य सोधपुछ गरेको जनाएको छ ।