विराटनगर, ३२ साउन । प्रदेश १ प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सरकारको सिफारिसमा सोमबार राति १२ बजेदेखि प्रदेशसभा अधिवेशन अन्त्य गरेका हुन् ।
सोमबार प्रदेश १ मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको चालू बजेट अधिवेशन आज राती १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो ।
प्रदेशसभा सचिव गोपाल पराजुलीले प्रदेशसभा नियमावली नियम (३) को उपनियम (३) बमोजिम प्रदेश प्रमुख प्यासिले अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सदन चलाउने उर्जा सांसदहरुमै नदेखिएकोले अधिवेशन अन्त्य गरिएको बताए ।
बजेट अधिवेशनमा २८ वटा बैठक बसेका छन् । त्यसमध्ये ४ वटा बैठक अवरुद्ध भएका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बजेट अधिवेशनबाट प्रदेशको नामाकरण गरिने सार्बजनिकरुपमा बताउदै आएपनि सो विषयले प्रदेशसभामा औपचारीक प्रवेश नपाई अधिवेशन अन्त्य भएको हो ।