Logo

४० वर्षदेखि भारतीय जेलमा रहेका दीपक जोशीलाई रिहा गर्न अदालतले दियो आदेश

                     
Logo 2021-03-17 10:03     Desk

13

एजेन्सी, ४ चैत । भारतीय जेलमा सुनुवाइविनै कैदी जीवन बिताउँदै आएका दीपक जोशी ४० वर्षपछि थुनामुक्त भएका छन् । जोशीलाई छाड्न भारतको कोलकाता उच्च अदालतले आदेश दिएको हो ।

दीपक भारतका विभिन्न जेलमा सुनुवाइविनै कैदी जीवन बिताउँदै आएका थिए । उक्त मुद्दामा सोमबार भएको सुनवाइपछि मंगलबार अदालतले दीपकलाई छाड्ने आदेश दिएको हो । दीपकको पक्षमा जयन्तनारायण चटर्जीले मुद्दा लडेका थिए । कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार अदालतले दीपकलाई उनका भाइ प्रकाशको जिम्मा लगाउन आदेश दिएको छ ।

दीपकसँग सम्बन्धित केही कागजात जुटाएपछि उनी १९८१ मा हत्या आरोपमा दार्जिलिङबाट पक्राउ परेको पाइएको थियो । पक्राउ परेपछि दीपकलाई कुनै अदालतमा पेस गरिएन । बहरमपुर जेल, अलीपुर जेल, मनोरोग चिकित्सालयमै उनका चार दशक बिते ।

दीपक १५ वर्षयता कोलकातास्थित ‘दमदम सेन्ट्रल करेक्सनल होम’ मा रहेका थिए । कोलाकातास्थित हैम रेडियो अपरेटर संगठनले दीपकको ठेगाना पत्ता लगाउन कोलाकातास्थित नेपाली वाणिज्य दूतावासमा सम्पर्क गरेपछि उनको परिवारको खोजी भएको थियो । उनको परिवार इलामको माई नगरपालिका-१० को लुम्बाक गाउँमा बस्दै आएको छन् । उनी जेलमा रहेको थाहा पाएपछि उनका भाइ प्रकाशसहित परिवारका सदस्य कोलकता पुगेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?