Logo

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा ७६ प्रतिशत कमी

                     
Logo 2021-03-17 08:03     Hamro Biratnagar

13

श्रमका लागि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ७६ प्रतिशतले घटेको छ । गत वर्षको सात महिनामा १ लाख ६५ हजार २६ नेपाली वैदेशिक रोजगारीका लागि बिदेसिएकोमा चालू आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा ३९ हजार ८०३ नेपाली कामका लागि बाहिरिएका हुन् ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.९ प्रतिशतले घटेको राष्ट्र बैँकको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि समीक्षा अवधिमा ६७.४ प्रतिशतले घटेको छ ।

गत आवको साउनदेखि माघसम्ममा १ लाख ५४ हजार ८१७ जनाले पुनः श्रम स्वीकृति लिएकोमा चालू आवको सोही अवधिमा जम्मा ५० हजार ४५० जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

समीक्षा अवधिमा सबैभन्दा धेरै युनाइटेड अरब इमिरेट्स (यूएई)मा १२ हजार ७६३ जना कामका लागि पुगेका छन् । यो गत वर्षको तुलनामा ७१.६ प्रतिशत कम हो । गत वर्षको सात महिनामा ४४ हजार ९७८ नेपाली कामका लागि यूएई गएका थिए ।

प्रतिशतका हिसाबले रोजगारीका लागि निकै आकर्षक दक्षिण कोरिया र मलेसिया जानेको संख्या धेरै घटेको छ । गत वर्ष ३ हजार ३९२ नेपाली दक्षिण कोरिया गएकोमा यो वर्षको सात महिनामा जम्मा १३ जना कोरिया पुगेका छन् । यो ९९.६ प्रतिशत कम हो ।

त्यस्तै गत वर्षको सात महिनामा ३० हजार ९२५ नेपाली मलेसिया गएकोमा यो वर्षको सोही अवधिमा २ हजार ७४४ नेपाली रोजगारीका लागि मलेसिया पुगेका छन् । यो ९१.१ प्रतिशत कम हो । त्यस्तै गत वर्षको सात महिनाको तुलनामा साउदी असर ६८.८ प्रतिशत, कतार ७९.२, कुवेत ८६.८, बहराइन ६६.१, ओमन ६६ प्रतिशत कम गएका छन् ।

कोभिड–१९ का कारण विश्व ठप्प भएपछि वैदेशिक रोजगारीको यात्रामा विश्राम लागेको हो । चीनको वुहानबाट २०१९ डिसेम्बर ३१ मा पहिलोपटक देखिएको कोरोनाभाइरसले नेपालसहित विश्वभरका २१६ देश तथा क्षेत्र ठप्प भए । नेपालको पनि चैतयता विश्वसँग सञ्चारबाहेकका करिब सबै माध्यम विच्छेद भयो । यसले नेपालको वैदेशिक रोजगारी प्रत्यक्ष प्रभावित भएको हो ।

रेमिट्यान्स भने बढ्यो

समीक्षा अवधिमा रेमिट्यान्स (विप्रेषण) आप्रवाह भने बढेको छ । गत आवको सात महिनाको तुलनामा रेमिट्यान्स १०.९ प्रतिशतले बढेर ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । गत आवमा ५ खर्ब ११ अर्ब ९० करोड रेमिट्यान्स भित्रिएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?