Logo

निहुँ खोजाहासँग झुकिन्न, हाम्रो नीति त्यही हो : ओली

                     
Logo 2021-03-17 10:03     Desk

13

काठमाडौं, ४ चैत । धेरैले धेरै पटक प्रधानमन्त्री केपी ओलीमाथि लगाउँदै आएको आरोप हो– विधि पद्धति मिचे । गुटगत स्वार्थमा केन्द्रित भए । अनि सरकार सञ्चालनमा स्वेच्छाचारी भए ।

तत्कालीन सत्तारुढ नेकपा र अहिलेको नेकपा (एमाले) को विवादको मुख्य कारक उनी नै रहेको ओलीइतर नेताहरूकाे निचाेड छ । कतिपयले त उनको शैलीलाई ‘ओलीतन्त्र’ र ‘ओली प्रवृत्ति’ भन्दै आलोचना गर्दै आएका छन् ।

तर, मंगलबार बालुवाटारमा आयोजित चियापान कार्यक्रममा ओलीले आफूले नभई अन्य नेताले पार्टी एकतामा संकट ल्याएको टिप्पणी गरे । उनले ‘केही मानिस’ले राष्ट्रिय राजनीति विथोलेको, हुँडलेको, एकता प्रक्रियालाई अगाडि जान नदिएर असहज स्थितिमा पुर्‍याएको आरोप लगाए ।

संसदमा सरकारलाई अध्यादेश प्रस्तुत गर्न नदिएर संविधान कार्यान्वयन गर्न नदिइएको उनकाे असन्तुष्टि थियाे । ‘अध्यादेशहरू अधिवेशन प्रारम्भ भएको पहिलो बैठकमै प्रस्तुत गर्नुपर्छ संविधानअनुसार । त्यो सरकारलाई प्रस्तुत गर्न दिइएन अथवा संविधान कार्यान्वयन गर्न दिइएन । संविधान कार्यान्वयन गर्न व्यवधान खडा गरियो’, उनले भने ।

ओलीले महत्त्वपूर्ण अध्यादेशहरू पनि प्रस्तुत गर्न नदिएर संसदलाई निस्प्रभावी बनाउने चेष्टा भएको पनि बताए । सभामुखको भूमिकाप्रति पनि प्रश्न उठाए ।

५ पुसमा प्रतिनिधिसभा विघटन गरेका ओलीले संसदलाई देश र जनताका निम्ति काम गर्ने थलो बनाउने आफ्नो प्रयास रहेको दाबी गरे । ‘हाम्रो प्रयास छ– संसदलाई देश र जनताका हितका निम्ति काम गर्ने थलो बनाउने’, उनले दाबी गरे ।

पार्टीका अध्यक्ष र महासचिवलाई निष्कासन गरेको, संसदीय दलको नेतालाई बाटा-बाटाबाट हटाएको भन्दै उनले कटाक्ष गरे । विधि र पद्धतिकाे पक्षधर भन्नेहरूले नै आफूलाई अवैधानिक कारबाही गरेको उनको भनाइ थियाे । ‘त्यस (विधि पद्धति) अनुसार चल्ने मान्छे भएको हुनाले बाटैमा विधि पुर्‍याइदिनुहुन्छ । बाटैमा पद्धति पुर्‍याइदिनुहुन्छ ।’

उनले पार्टीलाई पार्टीकै रूपमा चलाउने भन्दै अबदेखि भाँडभैलो हुन नदिने बताए । पार्टीमा अचाक्ली भइसकेको उल्लेख गरे । अब एकताबद्ध र अनुशासित पार्टी चाहिएको उनले बताए । खनाल–नेपाल समूहले बोलाएको राष्ट्रिय कार्यकर्ता भेलाप्रति लक्षित गर्दै ओलीले त्यसमा सहभागी नहुन आग्रह गरे ।

‘नेकपा एमालेसँग आवद्ध कोही नेता वा कार्यकर्ता गुटगट भेला नगर्न नगराउन, त्यस्ता भेलामा सरिक नहुन, त्यस्ता भेलामा नजान म सम्पूर्ण नेता कार्यकर्ताहरूलाई सजग, सचेत गराउन चाहन्छु’, उनले भने ।

खनाल-नेपाल समूहलाई लक्षित गर्दै ओलीले भने, 'एकथरी अनुहारका साथीहरूलाई चियापानमा देखिनँ । बैठक बसेर निर्णय गर्नुभयो रे, पार्टीको चियापानमा नजाने ! कसका चियापानमा भए जानुहुन्छ ?'

उनले खनाल-नेपाल समूहलाई लक्षित गर्दै कसैले पार्टीलाई घुर्क्याएर, धम्क्याएर चलाउँछु भनेर नसोच्न चेतावनी दिए । पार्टी विधि पद्धतिअनुसार चल्ने उनको भनाइ थियो । उनले नचाइने कुराका अगाडि नलत्रिने जिकिर गरे । 'सत्यसँग नलड्ने, निहुँ खोजाहासँग नझुक्ने, हाम्रो नीति हो,' ओलीले भने ।


लोकप्रिय छुटाउनुभयो कि ?