Logo

सामाजिक सुरक्षा कोषमा नियमित रकम जम्मा गर्नुपर्ने

                     
Logo 2021-03-16 09:03     Hamro Biratnagar

13

विराटनगर : सामाजिक सुरक्षा कोषमा नियमित रकम जम्मा नगरे योगदानकर्ता सुविधाबाट बञ्चित हुने सामाजिक सुरक्षा कोषले जनाएको छ ।

आज उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र सामाजिक सुरक्षा कोषले विराटनगरमा आयोजना गरेको अन्तक्र्रियामा योगदनाकर्ताले कोषमा नियमित रकम जम्मा नगरे कोषले प्रदान गर्ने सुविधाबाट बञ्चीत हुने जानकारी दिएको हो ।

सामाजिक सुरक्षाकोष र यसका योजनाहरूका बारेमा जानकारी दिने उद्देश्यले विराटनगरमा आयोजित अन्तक्र्रियामा कोषका निर्देशक उत्तमराज नेपालले हरेक महिनाको १५ गते भित्र कोषमा योगदानबापतको रकम जम्मा गरिसक्नु पर्ने व्यवस्था रहेको जानकारी दिए।

उनले कतिपय योगदान कर्ताहरूको रकम १५ गते भित्र जम्मा नहुँदा कोषले प्रदान गरेको सुविधा प्राप्त गर्न नसकिरहेको बताए । नेपालले हरेक महिनाका १५ गतेभित्र अघिल्लो महिनाको योगदानबापतको रकम कोषमा जम्मा गर्न रोजगारदाता तथा योगदानकर्ताहरूलाई आग्रह गरे । नेपालले सामाजिक सुरक्षा कोषले विभिन्न चार प्रकारका सुविधा उपलब्ध गराई रहेको जानकारी दिए।

नेपालका अनुसार हाल सामाजिक सुरक्षा कोषले बैंकमा रकम राखेर व्याजबापत मात्रै आम्दानी गरिरहेको छ । तर, अब, कोषले विभिन्न क्षेत्रमा लगानी गरेर पनि आम्दानी गर्ने बाटो खुलिसकेकाले कोषले योगदानकर्ताहरूलाई दिने प्रतिफल उच्च हुने दाबी गरे ।

लगानी कार्यविधि स्वीकृत भइसकेका कारण कोषलाई लगानी गर्ने बाटो खुलेको बताए । कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले सामाजिक सुरक्षा योजना लागु भएको लामो समय भए पनि सामाजिक सुरक्षा कोष र यसका योजनाहरूबारेमा अझै रोजगारदाता तथा श्रमिकहरू अन्योलमै रहेका कारण अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडाले सामाजिक सुरक्षा कोष राम्रो हुँदा हुँदै पनि प्रतिफल कम भएका कारण प्रर्याप्त आबद्धता हुन नसकेको धारणा राखे । कार्यक्रममा सहभागिहरूले सामाजिक सुरक्षा कोषका विभिन्न पक्षका विषयमा जिज्ञासा राखेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?