Logo

बोक्सीको आरोपमा रतुवामाईकी वृद्धा महिलामाथि निर्घात कुटपिट

                     
Logo 2021-03-16 07:03     Hamro Biratnagar

13

विराटनगर : मोरङको रतुवामाई नगरपालिका वडा नम्बर २ कि एक वृद्धा महिलालाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको छ ।

गत शनिबार राति १० बजेतिर छिमेकी परिवारका सदस्य मिलेर वृद्धालाई सामूहिक आक्रमण गरेका थिए । वृद्धामाथि खाबोमा बाँधेर अमानवीय ढंगले कुटपिट भएको थियोे । आक्रमणबाट वृद्धाको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ ।

सामूहिक आक्रमणबाट घाइते भएकी उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । आक्रमणबाट गम्भीर घाइते भएकी वृद्धाको बोल्न र घटनाको यथार्थ बताउन सक्ने अवस्था नरहेको प्रहरीको भनाइ छ ।

कुटपिटपछि बेहोस भएको देखेपछि श्रीमानले तत्काल घटनाको बारेमा प्रहरीलाई जानकारी गराएको बताइएको छ ।

उनीमाथि वर्ष ६५ का भीमलालसिंह गनगाई, वर्ष ६० का जितनलासिंह गनगाई, ५० वर्षका लखनलालसिंह गनगाई, २७ वर्षका लक्ष्मीप्रसादसिंह गनगाई र १९ वर्षीया हैरानी गनगाई मिलेर निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिट गर्ने मध्ये भीमलाल, जितनलाल र लखनलाल एउटै परिवारका दाजुभाइ हुन् । लक्ष्मीप्रसाद भतिजो र हैरानी भीमलालकी छोरी रहेको बताइएको छ ।

टुनामुना लगाएर बिरामी बनाइदिएको भन्दै गनगाई परिवारले यसअघि पनि वृद्धा महिलामाथि पटकपटक दुर्ववहार गर्ने गरेको स्थानीयहरु बताउँछन् । पीडित महिला पहिलादेखि नै मानसिक रुपमा कमजोर छिन् ।

पीडितका श्रीमानले घटनामा संलग्नविरुद्ध जाहेरी दिएपछि प्रहरीले लखनलाल र हैरानीलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई बोक्सी आरोपमा दुर्ववहार गरेको कसुरमा मुद्दा चलाउन अनुसन्धानका लागि आइतबार अदालतबाट म्याद थप गरिएको छ । घटनामा संलग्न अन्य तीन जना भने अझै फरार रहेका छन् । उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस्तो छ घटनाको वास्तविकता :

पीडित वृद्धा पहिलादेखि नै मानसिक रुपमा कमजोर छिन् । दुई परिवारबीच पहिलादेखि नै सामान्य झगडा हुदै आएको थियोे । वृद्धालाई यसअघि पनि विभिन्न आरोपहरु लगाएर सो परिवारले कुटपिट गर्ने गरेको थियोे ।

अहिले पक्राउ परेकी हैरानी गनगाईकी दिदी पुनमदेवी गनगाईसँग पीडित महिलाको विवाद भएको थियो । त्यही विवादलाई लिएर बोक्सीको आरोप लगाउँदै उनीमाथि सामूहिक आक्रमण भएको थियोे ।

शनिबार राति करिब १० बजेतिर घरमा सुतिरहेको अवस्थामा वृद्धालाई उठाएर नजिकको गाई गोठमा लगेर कुटपिट गरेका थिए ।

वडाअध्यक्ष भन्छन् : बोक्सीको आरोप लगाएको छैन

रतुवामाई २ का वडाअध्यक्ष किरणलाल सिंहले पीडित वृद्धा महिलालाई कसैले बोक्सीको आरोप नलगाएको बताएका छन् । पुरानो रिसिबिका कारण उक्त घटना घटेको पनि उनले बताए ।

प्रदेश दैनिकसँग कुरा गर्दै उनलेे भने, ' महिला महिला झगडा गर्दा हाम्रो समाजमा छोरीलाई पनि नराम्रो शब्द प्रयोग गरिन्छ तर त्यस्तो गालिलाई बोक्सीको आरोप लगाएको भन्न मिल्दैन । '

वृद्धा महिला केही दिनदेखि राति उठेर कताकता हिड्ने, घरमा नसुत्ने गरिरहेकी थिइन्, सिंहले भने, त्यसैले उनलाई परिवारका सदस्यले नै २/३ दिनदेखि बाँधेर राखेका थिए ।

आफ्नै घरका मान्छेले समेत वृद्धा महिलालाई कुटपिट गरेको वडाअध्यक्ष सिंहको भनाइ छ ।

परिवार भन्छ : वडाअध्यक्ष अपराधीको बचाउमा लागे

वडाअध्यक्ष किरणलाल सिंह आफै घटनामा संलग्न रहेकाले उनले घटनाको यथार्थ लुकाउन खोजेको परिवारले आरोप लगाएको छ ।

घटनाको वास्तविकता थाहा हुँदाहुँदै पनि वडाअध्यक्षले अपराधीलाई कारबाहीको लागि पहल गर्नका सट्टा बचाउमा लागेको परिवारको भनाइ छ ।

वडाअध्यक्ष र परिवारको मत भिन्नता

सोमबार प्रदेश दैनिकसँगको कुराकानीमा रतुवामाई २ का वडाअध्यक्ष किरणलाल सिंहले पीडित वृद्धा महिलालाई कसैले बोक्सीको आरोप नलगाएको बताएका थिए ।

परिवारले भने अध्यक्ष आफै अपराधमा संलग्न रहेकाले अपराधिको बचाउमा लागेर यस्तो अभिव्यक्ति दिएको बताएको छ ।

यस्तो छ परिवारको माग

घटनामा संलग्न रहेका दोषीलाई कडा कारबाही हुनुपर्ने परिवारको माग रहेको छ । एक्काइसौं शताब्दीमा समेत यस्तो अन्धविश्वासका पछि लागेर अपराध गर्ने जो कोहीलाई कानुनसम्मत कारबाही हुनु पर्ने परिवारले बताएको छ ।

कुटपिटपछि घाइते भएकी महिलाको सम्पूर्ण औषधि उपचारको खर्चसमेत अपराधमा संलग्नले तिर्नुपर्ने परिवारको माग रहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?