Logo

टोपबहादुर रायमाझीले भने- सांसद पद बचाउन हिँड्ने पक्षमा छैनौँ

                     
Logo 2021-03-11 12:03     Desk

13

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आफ्नो सांसद पद गए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाड्ने बताएका छन् ।

बिहीबा बिहान एमाले कास्कीले आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेता रायमाझीले अर्को पक्षमा लाग्दा सांसद पद गए पनि आफूसहितका नेता पदको पक्षमा नहिँड्ने बताएका हुन् ।

‘विचार, राजनीति, योजना, कार्यक्रम र कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाए मन्त्री र सांसद जहिले पनि हुन पाइन्छ । सांसद बचाउन हामी हिँड्ने पक्षमा छैनौँ,’ उनले भने ।

माओवादीबाट अहिले मन्त्री रहेका रायमाझी, गृहमन्त्री रामबहादुर थापा, खानेपानी मन्त्री मणि थापा लगायत द्विविधामा छन् । प्रधानमन्त्रीले विश्वासको मत लिनुपरे माओवादीको साथ छोड्दा ओली पक्षमा लागेका नेता कारबाहीमा पर्न सक्छन् । तर, प्रचण्डको साथ छोडेर ओली पक्षमा लागेका नेता रायमाझीले आफू सांसद पद बचाउन नलाग्ने बताएका हुन् ।

सर्वोच्चले पार्टीलाई पूर्ववतः अवस्थामा फर्काइदिएपछि एमालेका वरिष्ठ नेताद्वय  माधवकुमार नेपाल र झलनाथ खनाल नैतिक संकटमा छन् । प्रचण्डसँग लागेर प्रधानमन्त्रीविरुद्ध उत्रिएका उनीहरु सर्वोच्चको फैसलासँगै एमालेमै फर्किएर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै काम गर्नुपर्ने बाध्यता छ । रायमाझीले भने मन नबिगारी पार्टीमा फर्किन सुझाएका छन् ।

नेपाल र खनालको नाम नलिए पनि कार्यकर्ता भेटघाटमा उनले आफ्नै पार्टीमा फर्किन मन बिगार्न आवश्यक नरहेको बताए । ‘जो साथीले मन बिगार्नु भएको छ, मन बिगार्न पर्ने जरुरी छैन । खुसीका साथ समावेश हुनु,’ आफू प्रचण्डको साथ छोडेर आएकोतर्फ इंगित गर्दै रायमाझीले भने, ‘हामी त भइराछौँ भने अरु भइराखेका साथीलाई के गाह्रो छ ? हामी खुसी छौँ ।’

एमालेमै ओली पक्षका नेता–कार्यकर्ता बाटो बिराएका नेताप्रति पूर्वाग्रही हुन आवश्यक नरहेको उनले बताए । ‘बाटो बिराएका, मन बिगारेका साथीहरुलाई हार्दिकतापूर्वक स्वागत गरौँ । धेरै तिखो आलोचना गर्ने, बढी छिछी दुरदुर नगरौँ । समावेश भएर जान प्रेरित गरौँ । हामी सागरजस्तो विशाल हृदय बनाएर अगाडि बढ्नुपर्छ ।

गुटगत र व्यक्तिगत स्वार्थका लागि राजनीति गर्न नहुने नेता रायमाझीले बताए । प्रचण्डको साथ छोड्दा लिगेसी छोडेको आरोप खेप्दै आएका नेता रायमाझीले अबिर जात्रा गरेर केही नेताहरु हौसिएको टिप्पणी गरे । ‘जो साथीले संसद् पुनर्स्थापना हुनपर्छ भन्नुभएको थियो, भयो । खुसी भएर अबिर जात्रा गर्नुभयो । ठीकै भयो, उहाँहरुको मात्रै होइन हाम्रो पनि संसद् पुनर्स्थापना भयो,’ उनले भने, ‘केपीजीको पनि भयो मेरो पनि भयो । त्यति हौसिन पर्ने त थिएन । तर राम्रो भयो । हामीले पनि आनन्द मानेका छौँ ।’

https://youtu.be/wFnziOtPA7k


लोकप्रिय छुटाउनुभयो कि ?