Logo

चालक अनुमतिपत्रका लागि चार लाख ५२ हजारले दिए आवेदन

                     
Logo 2021-03-10 09:03     Desk

13

देशभरमा गरी चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या चार लाख ५२ हजार पुगेको छ । यो संख्या गत २९ पुसदेखि अहिलेसम्मको देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुन चाहने सेवाग्राहीको हो ।

लामो समयसम्म अवरुद्ध सेवा अहिले खुलेकाले एकै पटक धेरै सेवाग्राहीले भरेको यातायात व्यवस्था कार्यालयले जनाएको छ । झण्डै १० महिनासम्म अवरुद्ध सेवा खुल्दा एकै पटक भीड भए पनि अहिले कम भइरहेको सूचना प्रविधि निर्देशक पवित्र डङ्गोलले बताए ।

परीक्षार्थीले अनलाइनमार्फत फारम भर्न पाउने भएकाले जुनसुकै स्थानमा भए पनि फारम भरिरहेका छन् । उनले भने, 'अनलाइन भएकाले जुनसुकै समयमा सेवाग्राहीलाई फारम भर्न सजिलो भएको छ ।'

गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्र स्थगित गरेको थियो । झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले पहिलो महिना चाप रहेको सूचना प्रविधि निर्देशक डङ्गोलले बताए । उनका अनुसार सेवाग्राहीले २४ घण्टा नै र सातामा सात दिन नै अनलाइन फारम भर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।

गत पुसमा अनलाइन फारम लिन थाल्दा विभागले निश्चित समयभित्र मात्रै भर्नुपर्ने व्यवस्था गरेको थियो । निश्चित समय मात्रै हुँदै धेरै सेवाग्राहीले एकै पटक भीड भएकाले  सेवाग्राहीले भर्न सकेका थिएनन् । सुरुमा रहेको फारम भर्न नसकिने समस्या भए पनि जुनसुकै समयमा भर्न सक्ने व्यवस्था मिलाइएकाले त्यो समस्या हटिसकेको उनले बताए । उनले भने, 'पहिले पहिले फारम नै भर्न सकिएन भन्ने गुनासो आउने गरे पनि अहिले गुनासो छैन ।'विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को संकमण नेपालमा पनि देखिन थालेको थियो । नेपालमा दोस्रो संक्रमित भेटिएसँग सरकारले लागू गरेको बन्दाबन्दीका कारण देशभरका सबै सरकारी कार्यालयसँगै यातायात व्यवस्था कार्यालय पनि बन्द भएका थिए ।

कोभिड–१९ बाट सुरक्षित हुँदै असारदेखि कार्यालय खुले पनि नयाँ चालक अनुमतिपत्र सेवा अवरुद्ध थियो । कार्यालयले चालक अनुमतिपत्र वितरण र नवीकरण जारी राखे पनि कार्यालयमा भीड हुने भन्दै नयाँ अनुमतिपत्र सेवा अवरुद्ध गरेको थियो । प्रदेश सरकारअन्तर्गत रहेका कार्यालय र संघीय सरकारअन्तर्गत विभागबीचको समन्वयमा नै गत पुसदेखि नयाँ अनुमतिपत्र खुलाइएको थियो ।

https://youtu.be/wFnziOtPA7k


लोकप्रिय छुटाउनुभयो कि ?