Logo

प्रदेश १ का म्यानपावरमा विभागको छापा, कार्यालय थुनेर एजेन्टको भागाभाग

                     
Logo 2021-03-10 05:03     Desk

13

वैदेशिक रोजगार विभागले प्रदेश १ का मुख्य सहरमा रहेका म्यानपावरका शाखा कार्यालयहरूमा छापा मारेको छ । रोजगारीमा जाने कामदारसँग धेरै रकम उठाएको सूचना आएपछि विभागबाट शाखा अधिकृत रामप्रसाद पौडेलको नेतृत्वको टोली अनुगमन गएको हो ।

अनुगमन टोलीले विभागबाट अनुमति नलिई झापाको दमकमा शाखा कार्यालयका नाममा चलाइएको लायन्स इन्टरनेसनल (लाइसेन्स नम्बर ३४०) को कार्यालय सिल गरेको छ । यसैगरी, बिर्तामोडमा गरिएको अनुगमनका क्रममा मिमोसा ओभरसिजले पूर्वस्वीकृति नलिई अन्तर्वार्ता लिँदै गरेको पनि फेला परेको थियो । विभागको पूर्वस्वीकृतिबिना नै अन्तर्वार्ता लिने सो म्यानपावर कम्पनीको शाखा कार्यालयमा पनि अनुगमन टोलीले सिल गरेको छ ।

विभागको टोली आएको थाहा पाउनासाथ अवैधानिक रूपमा शाखा कार्यालयको नाममा कार्यालय खोलेर बसेकाहरू तथा अवैधानिक रूपमा काम गर्दै आएकाहरूको भागाभाग भएको अनुगमन टोलीमा संलग्न शाखा अधिकृत मातृका सापकोटाले जानकारी दिए । विभागको टोली आएको थाहा पाएपछि अनुमति नलिई शाखा कार्यालय खोलेका म्यानपावर कार्यालयमा ताला लगाएर एजेन्ट भागेको र पूर्वका मुख्य सहरमा अनुगमन भइरहेको उनको भनाइ छ ।

वैदेशिक रोजगारमा एजेन्टसम्बन्धी व्यवस्था गत २०७५ सालमा नै खारेज गरिएको भए पनि हालसम्म विभिन्न मेनपावर कम्पनीका शाखा कार्यालयहरूको नाममा वा अवैधानिक रूपमा व्यक्तिगत काम गर्ने क्रम भने जारी नै छ । सो कार्यलाई नियन्त्रण गर्न वैदेशिक रोजगार विभागले समयसमयमा आकस्मिक अनुगमन गर्दै आए पनि गैरकानुनी शाखा कार्यालयहरू वा एजेण्टकै रूपमा काम गर्नेहरूले त्यसलाई जारी नै राखेका छन् ।

म्यानपावर कम्पनीहरूले शाखा कार्यालय खोल्न वैदेशिक रोजगार विभागबाट अनिवार्य रूपमा अनुमति लिएको हुनुपर्दछ । हाल विभागमा २७ वटा मेनपावर कम्पनीले विभिन्न सहरमा ४४ वटा शाखा कार्यालय खोल्न अनुमति लिएका छन् ।

https://youtu.be/wFnziOtPA7k


लोकप्रिय छुटाउनुभयो कि ?