Logo

पुनर्स्थापित प्रतिनिधिसभाको दोस्रो बैठक आज, यस्तो छ सम्भावित कार्यसूची

                     
Logo 2021-03-10 09:03     Desk

13

पुनर्स्थापित प्रतिनिधिसभाको दोस्रो बैठक आज बस्दैछ । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको हो । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सर्वाेच्च अदालतले उल्टाइदिएपछि पुनर्स्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठक २३ जेठमा बसेको थियो ।

संसद सचिवालयका अनुसार आजको बैठकमा ७ वटा अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । गृहमन्त्री रामबहादुर थापाले तीन, कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले तीन र स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले एक अध्यादेश प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

जसअनुसार गृहमन्त्री थापाले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ प्रस्तुत गर्नेछन् ।

त्यस्तै कानुनमन्त्री श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश २०७७ प्रस्तुत गर्नेछन् । आजको बैठकमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको सचिवालयले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?