Logo

बर्दिवासमा भूमाफियाको जगजगी

                     
Logo 2021-03-09 10:03     Desk

13

महोत्तरीको बर्दिवास नगर क्षेत्रमा सरकारले सुकुम्बासी र अव्यवस्थित बसोबासी जग्गा व्यवस्थित गर्न थालेसँगै भूमाफियाको जगजगी बढेको छ । सरकारले बर्दिवास नगरपालिकासँगको सहकार्यमा वर्षौँदेखि पर्ति र ऐलानी जग्गामा घर बनाएर बसेका सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरेर जग्गाधनी प्रमाणपुर्जा दिने तयारी थालेसँगै भूमाफियाको जगजगी बढेको हो ।

नगरका वडा बस्तीमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन थालिएसँगै भूमाफियाले नदीउकास, पर्ति, ऐलानी र वन क्षेत्रका जग्गामासमेत साँध सीमा लगाएर जग्गा कब्जा गर्दैछन् । यसरी कब्जा गर्ने क्रम नदीउकास जग्गा र वन क्षेत्रमा बढी देखिएको बर्दिवास- १ का सामाजिक, राजनीतिक कार्यकर्ता शंकर फुँयाल बताउँछन् ।

'रातु पुलदेखि दक्षिण–पश्चिमको नदीउकास जग्गामा साँध सीमाका पिलर ठडिएका छन्, नेवारडाँडा, कामीडाँडा वन क्षेत्रको जग्गामा धमाधम घर ठडिने क्रम बढेको छ,' उनले भने, 'सरकारले सुकुम्बासी र बर्षौँदेखि भोगचलन गर्दै आएका गरिबलाई व्यवस्थित गरिने भन्दै लगत सङ्कलनको काम थालेसँगै अतिक्रमण ह्वात्तै बढेको छ ।'

नगरपालिका र सरकारले गठन गरेको भूमि समस्या समाधान आयोगले भूमाफियाको चलखेल रोक्न केही गर्दैछ भन्ने नदेखिएको फुँयालको थप गुनासो छ ।

'अन्तको कुरा छाड्नोस् न, बर्दिवास–१ र ३ मा पर्ने नेवारडाँडा कामीडाँडा वन क्षेत्रकै अतिक्रमित १६ बिघे कित्ताभित्र हेर्नोस, पार्टीका ठूलाबडा नेता, उपल्लो तहका हाकिम र ठाटबाँट देखाउने व्यापारीले कब्जा गरेर मोटो रकम लिँदै सोझासाझालाई फसाउँदैछन्,' उनले भने, 'वन क्षेत्र अतिक्रमण गर्न गराउन वनसम्बद्ध अधिकारी, पूर्वहाकिम र राजनीतिक दलका ठूलाबडा नै छन् ।'

१४ वडा रहेको नगरपालिका जिल्लाको मुख्य वन क्षेत्र ओगट्ने नगर भए पनि वन क्षेत्रको सुरक्षामा नगर नेतृत्वको चासो नदेखिएको यहाँका सर्वसाधारणको टिप्पणी छ ।

'जिल्लामा ७० जति सामुदायिक वन क्षेत्र, धार्मिक वन क्षेत्र र सागरनाथ वन विकास परियोजनाका प्लट अतिक्रमित भएका छन्,' बर्दिवास- २ का स्थानीय सामाजिक, राजनीतिक कार्यकर्ता देवनारायण महतो भन्छन, 'तर वनसम्बद्ध कार्यालय होउन् कि स्थानीय तहको नेतृत्व होस्, कानमा तेल हालेर बसेको देखिन्छ ।'

जिल्लामा सामुदायिक, साझेदारी, धार्मिक र सागरनाथ वन विकास परियोेजनाको समेत गरी करिब २४ हजार हेक्टर वन क्षेत्र रहेकामा अतिक्रमणका कारण १६ हजार हेक्टरभन्दा तल खुम्चिएको उनले बताए ।महोत्तरीमा बर्दिवास र गौशाला नगरपालिकाका पूर्वपश्चिम राजमार्गसँग जोडिएको क्षेत्रको दायाँबायाँ मुख्य वन क्षेत्र छ । चुरेडाँडासम्मको वन क्षेत्रका जग्गा अतिक्रमणको चपेटामा परेका छन् । यसबाहेक नदीले बहाव छाडेको उकासक्षेत्र भूमाफियाको चपेटामा परेको बर्दिवास–१४ का ६० वर्षीय हरि दाहालको भनाइ छ ।

बर्दिवास नगर क्षेत्रमा पर्ति, ऐलानी, नदीउकास र वन क्षेत्रको जग्गामा अतिक्रमण बढेको गुनासो बढिरहदा बर्दिवास नगरपालिकाले यस्ता जग्गाको संरक्षणबारे चासो बढाएको जनाएको छ ।  नगरप्रमुख विदुरकुमार कार्कीले एक महिनाअघि गत माघ २५ गतेको  नगर कार्यपालिकाको निर्णयले वन क्षेत्रको सुरक्षाका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने र पर्ति, ऐलानी र नदीउकास जग्गा छुट्याएर सार्वजनिक सरोकारमा उपयोग गरिने गरी नापी गर्ने निर्णय भएको जानकारी दिए ।

'वन क्षेत्रको जग्गा अतिक्रमण भएका सूचना र गुनासा बढेका छन्, वनसम्बद्ध निकायसँगको समन्वयमा तिनको खोजी गरिनेछ,' नगरप्रमुख कार्कीले भने, 'जनताले यसअघि घरबास नगरेका र खनजोत नगरेका पर्ति, ऐलानी र नदीउकास जग्गा अब नापी गरिने छ ।'

'नगर क्षेत्रभित्र ५०० बिघाभन्दा बढी यस्ता जग्गा छन्, सबैको वैज्ञानिक लगत अभिलेख बनाएर सरकारी कार्यालय, विद्यालय तथा अन्य सामाजिक सङ्घसंस्थाका कार्यालय बनाउन जग्गा उपलव्ध गराइने नीति बनाइएको छ,' उनले भने, 'हामी सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा स्वामित्व दिन लागिपरेका छौँ तर यो क्रममा भूमाफियाको चलखेल नियन्त्रण गरिनेछ ।'


लोकप्रिय छुटाउनुभयो कि ?