Logo

विराटनगर आएर माधव नेपालले भने–प्रधानमन्त्री नै असुरक्षित भए नागरिकको अवस्था के होला ?

                     
Logo 2021-03-02 03:03     Desk

13

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नै असुरक्षित भए आफ्नो पार्टीले सुरक्षा दिने बताएका छन् ।

मंगलबार विराटनगरमा प्रेस संगठन नेपालले गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री ओलीको सुरक्षा आफ्नो पार्टी नेकपाले गर्ने बताएका हुन् ।

‘प्रधानमन्त्रीज्यूले आफू असुरक्षित भएको बताएको मैले पनि सुनेको छु,’ नेपालले प्रश्न गर्दै भने, ‘देशका प्रधानमन्त्री नै असुरक्षित हुने हो भने नागरिकको अवस्था के होला ?’

उनले संसद् अधिवेशन सुरु भएसँगै राजनीतिक गतिरोध सहजतातर्फ अघि बढ्ने बताए । नेपालले संसद् अधिवेशनसँगै प्रतिगमनविरुद्ध सबै दल एक ठाउँमा उभिएर राजनीतिक गतिरोध अन्त्य गर्ने बताए ।

उनले प्रतिगमनविरुद्ध रहेका सबै दलसँग राजनीतिक निकास र नयाँ सरकार गठनका विषयमा हातेमालो गरिने बताए । प्रतिगमनलाई साथ दिएकाहरुले गल्ती महसुुस गरेर आए आफूहरू स्वागत गर्न तयार रहेको नेपालको भनाइ थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?