Logo

अपहरणमा परेका ७ वर्षीय बालकको उद्धार, १ करोड फिरौती माग्ने मामासहित तीन जना पक्राउ

                     
Logo 2021-02-21 09:02     Desk

13

धनुषाबाट अपहरणमा परेका एक बालकको सकुशल उद्धार गरिएको छ । शनिबार दिउँसो करिब १ बजेदेखि बेपत्ता भएका नगइराइन नगरपालिका– ६ स्थित जटहीका रमेश दासका ७ वर्षीय छोरा चन्दन दासको सकुशल उद्धार गरिएको हो ।

शनिबार राति जनकपुरधाम उपमहानगरपालिका– ४ स्थित माछा बजारबाट बालकलाई उद्धार गरिएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

अन्य बच्चाहरुसँगै घरबाट खेल्न निस्केको ३ घण्टापछि बालक फेला नपरेपछि खोजी सुरु भएको थियो । प्रहरीलाई शनिबार बेलुकी करिब ४ बजे बालक बेपत्ता भएको खबर आएको थियो । खबर आएको साढे तीन घण्टाभित्रै बालकलाई फेला पार्न सफल भएको प्रहरी उपरीक्षक रानाभाटले बताए ।

उनका अनुसार साँझमा उनको घरमा बच्चालाई अपहरण गरिएको भन्दै १ करोड फिरौती माग गरिएको थियो । अपहरणमा संलग्न बालकका मामासहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ परेका लक्ष्मेश्वर दासको नाम खुले पनि प्रहरीले अन्यको नाम खुलाएको छैन । आज दिउँसो घटनाबारे विस्तृत जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन समेत गर्न लागेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रानाभाटले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?