Logo

आज विराटनगरमा ओली समुहको जनसभाः प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने, सुरक्षा व्यवस्था कडा

                     
Logo 2021-02-20 09:02     Desk

13

विराटनगर, ८ फागुन । विभाजित नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समुहले आज विराटनगरमा नासभा गर्दैछ । प्रदेश १ को राजधानी विराटनगरमा पहिलो पटक ओली समुहले शक्ति प्रदर्शनसहित जनसभा गर्न लागेको हो । प्रदेश १ प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर समेत रहेको प्रदेश भएकाले विराटनगरमा आजयोना गर्न लागिएको जनसभालाई चासोका साथ हेरिएको छ ।

विराटनगर महानगरपालिका–२ स्थित विराट नर्सिङ होम नजिक रहेको मैदानमा आयोजित जनसभामा करिब डेढलाख समर्थक उतार्ने ओली समूहको दाबी छ । विराटनगर बजार क्षेत्रमा जनसभा आयोजना गर्दा जनतालाई असर पर्ने भएकाले खुल्ला ठाउँमा कार्यक्रम आयोजना गरिएको नेकपा ओली समुहका केन्द्रीय सदस्य विनोद ढकालले हाम्रो विराटनगरलाई बताए ।

नेता ढकालका अनुसार जनसभालाई मुख्य वक्ताकोरुपमा प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा बादल, नेता सुभासचन्द्र नेम्वाङ र प्रदेशका मुख्यमन्त्री शेरधन राई लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उनले जनसभामा जनसभामा उपस्थित हुनेहरुका लागि विभिन्न स्थानमा एक हजार पाँच सय सार्वजनिक बसको व्यवस्था गरिएको बताए । नेता ढकालले समर्थक तथा कार्यकर्ता निजी सवारी र मोटरसाइकलमा पनि आउने बताए । ‘अब ठ्याक्कै यतिनै जनताको सहभागिता हुन्छ भन्ने भन्दा पनि लाखौँ जनताको सहभागिता जनसभामा रहनेछ ।’ उनले हाम्रो विराटनगरसँग भने,‘टाउकै गन्ने भन्दा पनि लाखौँ जनताको उत्साहपूर्ण सहभागिता रहनेछ ।’

नेता ढकालले जनसभाको सम्पूर्ण तयारी पुरा भएको हाम्रो विराटनगरलाई जानकारी दिए । ‘मञ्च व्यवस्थापनको काम सवै सकिएको छ, विभिन्न ठाउँबाट जन सहभागिता हुन्छ । १२ बजेदेखि विराटनगरका विभिन्न छ वटा पइन्टबाट जुलुस निस्किन्छ ।’ उनले भने,‘११ बजेदेखि सांस्कृतीक कार्यक्रम सुरु हुन्छ । साढे १२ बजेदेखि जनसभा सुरु हुन्छ ।’

उनका अनुसार प्रधानमन्त्री ओली विहान ११ बजे विराटनगरमा आउने र सभालाई सम्बोधन गर्दै अरु केही कार्यक्रममा सहभागी बनेर ४ बजे फर्कने कार्यक्रम तय भएको छ । सभामा अत्याधिक भिड हुने भएकाले ओलीसहित शीर्ष नेताहरुले गर्ने सम्बोधनलाई दुई ठाउँबाट स्क्रिनमार्फत देखाउने तयारी रहेको उनले जानकारी दिए ।

प्रधानमन्त्री ओलीसहित शिर्ष नेताहरु विराटनगर आउने भएपछि विराटनगरलगायत आसपाकिो सुरक्षा व्यवस्था कडा पारिएको छ । विराटनगरमा शुक्रबारबाटै नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानबाट सुरक्षाको प्रबन्ध मिलाइएको छ ।

शनिबार बिहानैदेखि विराटनगरमा ठूलो संख्यामा पोसाक र हतियारसहितका सुरक्षाकर्मी परिचालन गरिएका छन् । ठाउँठाउँमा नेपाल र सशस्त्र प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ । सादा पोसाकका सुरक्षाकर्मी पनि उत्तिकै संख्यामा खटाइएको सुरक्षा निकायहरुले जानकारी दएका छन् ।

सुरक्षा व्यवस्था मजवुत बनाउन नेपाली सेनाको टोली सादा पोशाकमा खटिएको छ । प्रधानमन्त्री सवारी हुनेभएपछि विराटनगरमा सुरक्षा सतर्कता उच्च बनाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काले हाम्रो विराटनगरलाई जानकारी दिए । ‘आजको कार्यक्रमलाई हामीले तीन तरिकाबाट हेरेका छौँ । एउटा प्रधानमन्त्री ज्यूको सवारी र उहाँको सहभागिताको सुरक्षा, जनसभामा सहभागि हुने आम जनसमुदायहरुको सभास्थल जाँदा सम्मको सुरक्षा प्रवन्ध गरिएको छ ।’ उनले हाम्रो विराटनगरसँग भने,‘व्यवस्थित तरिकाले प्रशस्त र भरपर्दो सुरक्षा व्यवस्था अबलम्बलन गरेका छौँ ।’

जनसभाको पूर्वसन्ध्यामा शुक्रबार ओली समुहले विराटनगरमा शक्ति प्रदर्शनसहित मार्च पास गरेको थियो । त्यसैगरी जनसभाको प्रचार–प्रसारका लागि भन्दै बिहिबार विराटनगरमा बृहत मोटरसाइकल ¥याली निकालेको थियो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि नेकपा राजनीतिकरुपमा दुई समुहमा विभाजित छ । त्यसले कानुनी मान्यता पाएको छैन । प्रतिनिधिसभा विघटन विषयको मुद्धा सर्बोच्च अदालतमा विचाराधिन छ । नेकपाको एउटा समुहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् भने अर्को समुहले नतृत्व प्रचण्ड र माधवकुमार नेपालले गरेका छन् ।

प्रचण्ड–नेपाल समुह प्रतिनिधिसभा विघटनको विरुद्धमा चरणवद्ध आन्दोलनमा छ । उक्त समुहले शक्ति प्रदर्शनसहित विरोधसभाहरुलाई निरन्ता दिँदै आएको छ । ओली समुहले पनि आफ्नो शक्ति प्रदर्शन सहित देशभर जनसभाहरु गरिरहेको छ । केहीदिन अघि मात्र ओली समुहले लम्बिनी प्रदेशको बुृटवलमा जनसभा गरेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?