Logo

२ करोड १६ लाखलाई खोप, फागुनदेखि समुदायस्तरमा लगाइने

                     
Logo 2021-02-15 05:02     Desk

13

सरकारले २ करोड १६ लाख जनसंख्यालाई खोप लगाउने तयारी थालेको छ । सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री नवराज रावतले २ करोड १६ लाख जनसंख्यालाई खोप लगाउने तयारी गरिएको बताए ।

मन्त्री रावतले कोरोना नियन्त्रण गर्न सरकार सफल भएको पनि दाबी गरे । ‘सरकारले केही गरेन भन्नेहरूलाई तोकिएको मितिभन्दा एक महिनाअघि खोप ल्याएर कोरोना नियन्त्रण गर्न सफल भएको छ’, उनले भने, ‘चिकित्सकहरूले पनि सेवामा कुनै कमी गर्नुभएको छैन ।’

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले २४ फागुनदेखि समुदायस्तरमा खोप अभियान सञ्चालन गर्ने तयारी भइरहेको बताए ।उनका अनुसार सरकारले खोप अभियान नरोक्नका लागि खरिद प्रक्रिया पनि अगाडि बढाएको छ ।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले नेपालमा थप तीनवटा खोप उत्पादक कम्पनीले विभागमा निवेदन दिएको बताए । ती कम्पनीहरूलाई आवश्यक कागजातका लागि पत्राचार गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा विज्ञहरूले खोप लगाएकालाई टाउको दुख्ने, ज्वरो आउने, शरीर दुख्ने, वाकवाकी लाग्ने, रक्तचाप कम हुनेलगायत समस्या सामान्य कुरा भएको बताएका थिए । ‘यस्ता समस्या देखिनु भनेको खोपले काम गर्दैछ भन्ने हो’, खोपविज्ञ डा. श्यामराज उप्रेतीले भने, ‘त्यसैले यसलाई सामान्य रूपमा लिनुपर्छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले पहिलो चरणमा ५५ वर्षभन्दा माथि उमेर समूहका व्यक्तिले खोप पाउनुपर्नेमा जोड दिए ।

‘अहिले कोभिड संक्रमण भएर गम्भीर अवस्थामा पुगेका र मृत्युदर पनि ५५ वर्षभन्दा माथिका मानिसहरूको बढी रहेकाले यो उमेर समूहका नागरिकले खोपमा पहिलो प्राथमिकता पाउनुपर्छ,’ उनले भने ।

महामारी रोगविज्ञ प्रा.डा. केदार बरालले कोभिड–१९ को खोप आइसकेको भए पनि हेलचेर्क्याइँ गर्न नहुनेमा जोड दिए । डा. बरालले कोभिसिल्ड खोप लगाएर कसैलाई पनि गम्भीर खालको समस्या नदेखिएको बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?