Logo

देउवाले भने- निर्वाचन आयोगमाथि शंका गर्ने बेला भइसक्यो, निर्वाचन कार्यक्रम किन सार्वजनिक गर्दैन ?

                     
Logo 2021-02-15 05:02     Desk

13

File

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनका कार्यक्रम सार्वजनिक नगरेको भन्दै निर्वाचन आयोगप्रति आक्रोश पोखेका छन् ।

कांग्रेस रुपन्देहीले सोमबार भैरहवामा गरेको विरोधसभालाई सम्बोधन गर्दै सभापति देउवाले निर्वाचन आयोगले निर्वाचनको प्रक्रिया सुरु नगरेकोप्रति आक्रोश पोखेका हुन् । उनले अब निर्वाचन आयोगमाथि नै शंका गर्नुपर्ने बेला भइसकेको पनि बताए ।

‘सरकारले वैशाखमै निर्वाचन गर्छु भनेको छ । तर, आयोगले निर्वाचनका कार्यक्रम सार्वजनिक नगरेर बदमासी गरिरहेको छ,’ उनले आक्रोश पोख्दै भने, ‘निर्वाचन आयोगले चुनावको प्रक्रिया नै सुरु गरेको छैन । किन आयोगले चुनाव गर्छु भन्दैन ?’

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमै चुनाव गर्छु भने पनि निर्वाचन आयोगले निर्वाचनका कार्यक्रम अघि बढाउन नसकेको बताए ।

‘निर्वाचन आयोग शंका गर्नुपर्ने बेला भइसकेको छ,’ देउवाले भने, ‘आयोगले किन निर्वाचन कार्यतालिका प्रकाशित गर्दैन ? चुनावको कार्यक्रम किन दिन सक्दैन ? निर्वाचन आयोगको काम निर्वाचन गराउने हो । आयोगले चुनाव गराउँछु भन्नुपर्छ ।’

सभापति देउवाले निर्वाचन आयोग अदालतको निर्णय पर्खेर बस्न नहुने पनि बताए । ‘अदालतबाट चुनाव नगराउने निर्णय आए निर्वाचन कार्यक्रम बन्द गरे भइहाल्यो नि,’ उनले भने, ‘निर्वाचन आयोगको काम चुनाव गराउने हो । त्यसैले संसद् विघटन भएको ६ महिनाभित्र चुनाव गराउँछु भन्नुपर्छ । तर, आयोग म चुनाव गराउँछु, तयार छु भनेर बोलेको छैन ।’

उनले निर्वाचन आयोग निर्वाचनबारे नबोलेकोमा पनि आक्रोश पोखे । ‘म चुनाव गराउन तयार छु भनेर किन निर्वाचन आयोग बोलिरहेको छैन,’ देउवाले भने, ‘निर्वाचन आयोग किन बोल्दैन ? ’

उनले चुनाव चिन्ह नेकपाको कुन समूहलाई दिने हो त्यो निर्णय पनि आयोगले छिट्टै गर्नुपर्ने बताए । ‘चुनाव चिन्ह कसैलाई दिए भाइहाल्छ नि,’ उनले भने, ‘एउटा सूर्य चिन्ह छ, दुईमध्ये एक समूहलाई दिए हुन्छ । यसबारे आयोगले निर्णय गर्नु पर्‍यो ।’

उनले जुलुस हेरेर अदालतले निर्णय नगर्ने पनि बताए । ‘जुलुस लगाएर अदालतले निर्णय गर्दैन । जुलुस हेरेर अदालतले निर्णय गर्ने हो भने किन चाहियो अदालत ?,’ देउवाले भने, ‘त्यसैले अदालतले संसद विघटनको निर्णय बदर गर्छ भने पनि ठीक छ, चुनाव गर भन्यो भने पनि हामीलाई ठीक छ । अदालतको निर्णयपछि हामीले हाम्रो निर्णय गरौंला । ’

उनले सर्वोच्च अदालतभन्दा ठूलो अदालत भनेकै जनता भएको बताए । ‘सर्वोच्चभन्दा पनि ठूलो अदालत भनेको एउटै हो जनता । जनताभन्दा ठूलो अदालत कहीँ पनि छैन,’ उनले भने ।

अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले यस्तो गर, उस्तो गर भन्न नमिल्ने बताए । ‘अदालतलमा विचाराधीन मुद्दामा यस्तो गर, उस्तो गर भन्न मिल्दैन । त्यसैले अदालतको निर्णय पर्खौंं, अदालतलाई निर्णय गर्न दिऔं । त्यसपछि हामीले निर्णय गरौंला,’ देउवाले भने ।


लोकप्रिय छुटाउनुभयो कि ?