Logo

प्रदेश १ सरकारको तीन वर्षः महत्वपूर्ण उपलब्धी हाँसिल गरेको दाबी

                     
Logo 2021-02-15 03:02     Desk

13

विराटनगर, ३ फागुन । प्रदेश १ सरकारले तीन वर्षको अवधिमा प्रदेशमा महत्वपूर्ण उपलब्धी हाँसिल गरेको दाबी गरेको छ । सोमबार विराटनगरमा आयोजित प्रदेश १ सरकारको तेस्रो बार्षिक उत्सव समारोहमा सरकारले तीन वर्षको अवधिमा महत्वपूर्ण उपलब्धि हाँसिल गरेको दाबी गरेको हो ।

कार्यक्रममा प्रदेश १ का प्रमुख सोमथान अधिकारी प्यासीले प्रदेश सरकार सफल भएको बताएका छन् । उनले विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीका बेला प्रदेश सरकारले महत्वपूर्ण योगदान गरेको बताउँदै उनले तीन वर्षमा सरकारले महत्वपूर्ण उपलब्धी हासिल बताए ।

संघ र स्थानीय तहको कडीका रुपमा प्रदेश सरकारले भूमिका निर्वाह गरेको उनको दावी थियो । कोरोना जनसुरक्षा कोष, गरिबसँग खाद्यान्न कार्यक्रम लगायतका जनतालाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमहरू प्रदेश सरकारले सञ्चालन गरेकोमा उनले प्रदेश सरकारको प्रशंसा गरे ।

कार्यक्रमम प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीयताको जग नै प्रदेश संरचना भएको बताए । उनले प्रदेश संरचनालाई व्यवस्थित बनाउन प्रदेश सरकारले महत्वपूर्ण भूमिका खेलेको बताए । मुख्यमन्त्री राईले संघीयता कार्यान्वयनको महत्वपूर्ण आधार प्रदेश संरचनालाई संस्थागत गर्न प्रदेश सरकार निरन्तर लागि परेको बताए ।

उनले तीन वर्षको अवधिमा प्रदेश सरकारले १ सय २३ वटा कानुन निर्माण गरेको जानकारी दिए । सरकारले राम्रा काम गर्दागर्दै पनि सत्तारुढ दलभित्रैबाट सरकार ढालेर, प्रधानमन्त्री, राष्ट्रअध्यक्ष, अनि क्रमशः प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुखहरुलाई अपदस्त गरी अस्थिरता निम्त्याउने खेल सुरु भएपछि ताजा जनादेशमा जानका लागि प्रधानमन्त्रीले संसद विघटन गरेको मुख्यमन्त्री राईले बताए ।

आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई जनताको विश्वासमा तातो पानी खन्याउने काम भएको मुख्यमन्त्रीको टिप्पणी छ । अविश्वासको प्रस्तावलाई मुख्यमन्त्री राईले जनविरोधी हर्कतको संज्ञा दिँदै यसविरुद्ध एकजुट हुनुपर्ने पनि बताए ।

प्रदेशसभामा मुख्यमन्त्रीको विरुद्व आएको अविश्वासको प्रस्तावलाई सामना गर्ने राईले स्पष्ट पारे । संसदीय व्यवस्थाको प्रचलित नियम विपरीत अविश्वासको प्रस्ताव आएकाले वैधानिकता प्रश्नको निरुपण गरी प्रस्तावको सामना गर्ने मुख्यमन्त्री राईको भनाई छ ।

प्रदेशसभाले राजधानीको टुङ्गो लगाएको र नामको पनि चाडै टुङ्गो लगाउने उनले बताए । तेस्रो वार्षिक उत्सवका अवसरमा प्रदेश सरकारले तीन वर्षमा गरेका महत्वपूर्ण कामको सूचीसहितको गोजी पुस्तिका पनि सार्वजनिक गरेको छ । यस्तै प्रदेश १ मा यातायात कार्यालयहरूले उपलब्ध गराउने सेवाहरू डिजिटल प्रविधिबाट उपलब्ध गराउने कामको थालनी पनि भएको छ ।

कार्यक्रममा डिजिटल प्रविधिको सेवा ल्यापटपको किबोर्ड थिचेर मुख्यमन्त्री राईले उद्घाटन गरेका थिए । उनले यातायातका साधनको दर्ता, नविकरण, नामसारीलगायतका सबै काम अनलाइनबाटै हुने जानकारी दिए । मुख्यमन्त्री राईले यातायातको मात्रै नभई मालपोत , नापीलगायतका कार्यालयले प्रवाह गर्ने सेवा पनि छिट्टै अनलाइन माध्ययमबाटै प्रबाह गरिने बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?