Logo

सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिँदै छ : कांग्रेस

                     
Logo 2021-02-15 11:02     Desk

13

Hamrobiratnagar

नेपाली कांग्रेसले सामाजिक सञ्जाल व्यवस्थापन गर्ने नाममा सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्दै सजग बन्न युवा पुस्तालाई आग्रह गरेको छ । सरकारले संसदमा विचाराधीन सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा व्युँताउन खोजेको भन्दै कांग्रेसले ‘गम्भीर आपत्ति’ जनाएको छ ।

‘सरकारले व्यापक विरोधका बाबजुद ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युँताउन लागेकोमा नेपाली कांग्रेस गम्भीर आपत्ति प्रकट गर्दछ,’ प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सामाजिक सञ्जाललाई नियमन गरी मर्यादित र स्वस्थ बनाउने विषयमा विमति नभए पनि विद्यमान कानूनभित्रै त्यसका लागि आवश्यक प्रावधान भएको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरि कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरु जारी गर्न नहुने र नमिल्ने जनाएको छ ।

‘थप व्यवस्था आवश्यक छ भने पनि बृहत्तर विमर्श बेगर, संसद विघटन भएको समयमा निर्देशिकामार्फत् जारी गर्नतर्फ लाग्नुले सरकारको नियतमाथि गम्भीर प्रश्न उब्जिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरि कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरु जारी गर्न हुँदैन, मिल्दैन र पाइँदैन ।’

प्रस्तावित निर्देशिकाको प्रक्रिया अघि नबढाउन सरकारलाई चेतावनी दिँदै कांग्रेसले आजको देशव्यापी प्रदर्शनमा यो मुद्दालाई थप उजागर गर्ने जनाएको छ ।

सामाजिक सञ्जालमा व्यक्त मतलाई सरकारी आवेगले कारबाहीको दायरामा बाँध्ने तयारी अधिनायकवादतर्फको एक अर्को फड्कोको तयारी भएको उल्लेख गर्दै विज्ञप्तिमा यसविरुद्ध समयमै सजग बन्न अभिव्यक्ति स्वतन्त्रताका पक्षधरलाई आग्रह गरेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?