Logo

बीपी लानुपर्ने विरामीलाई झुक्याएर एम्बुलेन्स चालकले विराटनगरको म्याक्स अपस्पतामा पुर्याए, विरामीको मृत्युपछि आफन्तद्वारा प्रदर्शन

                     
Logo 2021-02-13 05:02     Desk

13

विराटनगर, १ फागुन । विराटनगरस्थित म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । उपचारमा संलग्न चिकिसत्सकलाई कारबाही र राहतको माग गर्दै आफन्तले अस्पताल अगाडि प्रदर्शनसमेत गरेका थिए ।

मोरङको जहदा गाउँपालिका–४ की २५ वर्षीया रन्जना महतोको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएपछि आफन्तहरुले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै नाराबाजीसहित प्रदर्शन गरेका छन् ।

बिरामीका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै अस्पताल अगाडि नाराबाजी गरेका थिए । उनीहरूले लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्नुको साथै पीडित परिवारलाई राहत दिनुपर्ने माग राख्दै अस्पताल अगाडि नाराबाजीमा उत्रेका हुन् ।

आफन्तले नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएपछि अस्पताल अगाडि मोरङ प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरेर सुरक्षा दिएको थियो । गत पुस १६ गते रन्जनाले खाना पकाउने क्रममा शरीरका विभिन्न भाग जलेको थियो ।

उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । कोशीमा उपचार नहुने भएपछि धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठान रेफर गरिदिएको भए पनि एम्बुलेन्स चालकले म्याक्स हस्पिटल लिएर आएको मृतक रञ्जनाकी सासु भगमन्ती देवी महतोले बताइन् ।

एम्बुलेन्स चालकले आफूहरुलाई झुक्याएर म्याक्स हस्पिटल पु¥याएको उनले आरोप लगाइन् । अस्पतालमा करिब डेढ महिना उपचार गर्दा १२ लाख रुपैयाँ सकिएको उनको भनाइ छ । तर, उपचार गर्दा पनि रञ्जनाको स्वास्थ्यमा सुधार नआएको महतोले बताइन् । गाउँ–घरबाट सहयोग संकलन गरेर उनको उपचार गराएको स्थानीय समाजसेवी टीका विसुन्केले बताए ।

मृतक महतोको उपचारका लागि १७ धुर जग्गासमेत बिक्री भइसकेको उनले बताए । उपचारकै क्रममा रञ्जनाको शनिबार बिहान मृत्यु भएको हस्पिटलका अध्यक्ष सत्रुधन यादवले बताए । उनले बिरामीको उपचारमा ८ लाख २५ हजार रुपैयाँ मात्र खर्च भएको दाबी गरे ।

उनले अस्पतालेले विरामीका आफ्नतहरुसँग छलफल गरेर ६ लाख २५ हजार छुट गरिदिएको जानकारी दिए । मृतकका चार वर्षकी छोरी र २ वर्षका छोरा छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?