Logo

देवी दाहालको संयोजकत्वमा रतुवामाईमा नेकपाको १ सय ६१ सदस्यीय नगरकमिटी पुनरगठन

                     
Logo 2021-02-11 11:02     Desk

13

विराटनगर, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संस्थापन पक्षले मोरङको रतुवामाईमा नगरकमिटी पुनर गठन गरेको छ । रतुवामाई नगरकमिटीमा आवद्ध केही व्यक्तिहरु विभाजित नेकपा दाहाल–नेपाल समुहमा लागेपछि संस्थापन पक्षले रतुवामाई नगर कमिटी पु्नर गठन गरेको हो ।

पुनरगठित नेकपा रतुवामाईको नगर संयोजकको जिम्मेवारी देवी दाहाललाई प्रदान गरिएको छ । सिजुवास्थित विश्वनाथ मन्दिरको सभाहलमा बिहिबार आयोजित कार्यक्रममा दाहालको संयोजकत्वमा १ सय ६१ सदस्यीय नगरकमिटी घोषणा गरिएको हो ।

नवगठित कमिटीको सह–संयोजकमा कृष्ण ढकाल र सचिवमा नेवालाल राजवंशी चयन भएका छन् । पुनगरगठित नेकपा रतुवामाई नगरकमिटीमा जिम्मेवारी पाएका पदाधिकारी तथा सदस्यहरुलाई नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश नं. १ का प्रभावशाली नेता गुरु बरालले पद तथा गोपनियताको शपथग्रहण गराएका छन् । सो अबसरमा बोल्दै नेता बरालले करिब दुईतिहाई मत सहितका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रै बाट नेताहरुले चौतर्फी घेराबन्दी गरेर जनतासँग गरेका बाचा पुरा गर्न अवरोध सृजना गरेपछि बाध्य भएर प्रतिनिधिसभा विघटन गरि चुनाव मार्फत जनतामै जाने बाध्यात्मक निर्णय गर्नुपरेको दावी गरे ।

उनले विभाजित नेकपाको दाहाल–नेपाल समुहका नेताहरुले उल्टै विधि र पद्धति विपरित काम गर्दै आफ्नो पक्षमा निर्णय गर्न राज्यका संवैधानिक अंगहरुलाई बारम्बार धम्मि दिइरहेको आरोप लगाए । नेता बरालले दाहाल–नेपाल समुहका नेताहरुको पदलोलुपताको भण्डाफोर गर्नुपर्नेमा जोड दिए । उनले भारतले कब्जा गरेको कालापानी–लिपुलेक–लिम्पियाधुरासहितको नक्सा ओलीकै कारण जारी भएपछि दाहाल–नेपाल समुह विदेशीको चंगुलमा फसेर पार्टी विभाजन गर्ने र सरकार ढाल्ने षड्यन्त्रमा लागेको आरोप लगाए ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य, मोरङ अध्यक्ष तथा संविधानसभा सदस्य ऋषिकेश पोखरेलले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको र केही नेताहरु प्रधानमन्त्री, पार्टी अध्यक्ष, राष्ट्रपति पद नपाएको झोँकमा चोइटिएर गएको बताए । उनले पार्टीका प्रथम अध्यक्ष ओलीले मुलुमा शान्ति, समृद्धि र स्थिरता चाहेको तर दाहाल–नेपाल समूहले विदेशीको एजेन्ट बन्दै मुलुकमा अस्थिरताको अवस्था सृजना गराउन खोजेको दावी गरे ।

नेता पोखरेलले जनताले मुलुकमा विकास र समृद्धिका लागि ओलीलाईनै साथ दिने स्पष्ट पारे । उनले दशकौँदेखि कुनै पनि सरकारले गर्न नसकेको र ओलीले नेतृत्व गरेको नेकपाको सरकारले ऐतिहाँसिक काम गरेर देखाएकाले पनि जनताले ओलीलाई साथ दिने बताए । उनले जनता साथमा नभएपछि दाहा–नेपाल समुहले अत्तालिएको समेत बताए ।

पोखरेलले जनताले विश्वास गरेर पठाएको प्रधानमन्त्रीलाई पदकै लागि आफ्नै पार्टीका केही नेताको चौतर्फी घेराबन्दी गरेर काम गर्न नदिएपछि बाध्य भएर संसद विघटन गरेको बताए । ‘हामीले संविधान कार्यान्वयन, विकास र समृद्धिका लागि जनतासँग भोट मागेका थियौँ । त्यहि अनुसार जनताले भोट दिएर जिताए ।तर दुई तिन जना नेताले जसरी पनि पद पाउनुपर्ने हठका कारण प्रधानमन्त्रीलाई काम गर्न दिनुभएन । चौतर्फी घेराबन्दी गर्नुभयो । त्यसैले जनताबाट प्राप्त म्याण्डेड प्रधानमन्त्रीले जनतामै सुम्पिनुभयो ।’ उनले भने,‘सवै भन्दा ठुलो अदालत जनता भएकाले जनतासँग ताजा जनादेशमा जाने निर्णय प्रधानमन्त्रीले लिनुभयो । जनतासँग फैसला माग्नु कसरी गलत हो ? लोकतन्त्रको गहना भनेकै निर्वाचन हो । बाटो बाटो कुतर्क गर्दै हिँडेर हुन्छ ?

नेता पोखरेलले रतुवामाईमा नगरकमिटीका केही व्यक्तिहरु अलग समुहमा लागेपछि बाध्यात्कम परिस्थितीमा रतुवामाईमा पार्टी पुनर गठन गर्नुपरेको स्पष्ट पारे । कार्यक्रम रतुवामाई–६ का वडाध्यक्ष तुलाराम लुइटेलको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा मोरङका नेता नरेश श्रेष्ठ, रतुवामाई नगरपालिकाकी उपमेयर दयन्तादेवि चुडाल, रतुवामाई नगरपालिका–८ का वडाध्यक्ष नन्दकुमार चापागाईँ ‘गोपि’ लगायत आम नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

सो अवसरमा नेपाली कांग्रेस परित्याग गरि आधा दर्जन व्यक्तिहरु नेकपामा प्रवेश गरेका छन् । ओलीको नेतृत्वमा मात्र मुलुमा स्थिरता र समृद्धि आउने भन्दै लामो समयदेखि नेपाली कांग्रेसको कार्यकर्ता रहेका अधा दर्जन व्यक्तिहरु नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेकपा केन्द्रीय सदस्य बराल, संविधानसभा सदस्य, नेकपा केन्द्रीय सदस्य तथा मोरङ अध्यक्ष पोखरेल लगायतले स्वागत गरे ।


लोकप्रिय छुटाउनुभयो कि ?