Logo

रामकुमारी झाँक्री निवासबाटै गिरफ्तार, राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिने

                     
Logo 2021-02-11 02:02     Desk

13

नेकपा प्रचण्ड–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँकीलाई  प्रहरीले गिरफ्तार गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीको टोलीले नेतृ झाँक्रीलाई शंखमूलस्थित निवासबाटै गिरफ्तार गरेको हो । रामकुमारीलाई राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ काे कसुरमा अनुसन्धान गरिने प्रहरीले जनाएकाे छ ।

राज्यविरुद्धको कसुर दफा ५८ मा बलप्रयोग गरी वा नगरी राष्ट्रपति वा संसद्‍लाई कुनै किसिमको धम्की दिने वा डर त्रास देखाउने वा दवाब दिने सम्बन्धी कसुर छ । राज्यविरुद्धको सजाय निर्धारणसम्बन्धी सर्वोच्चले बनाएको मार्गदर्शनले यस्तो कसुरमा ४ देखि ७ वर्षसम्म कैद वा ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ ।

प्रहरीले पक्राउ पुर्जी थमाएपछि नेतृ झाँक्रीले कानुनलाई सम्मान गर्ने भन्दै गिरफ्तारी दिन सहमत भएकी हुन् ।  गिरफ्तारी दिनुअघि नेतृ रामकुमारी झाँक्रीले सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने प्रयास गरेको बताएकी छिन् ।

राज्यविरुद्धको कसुरको आरोपमा आफलाई गिरफ्तार गर्न लागेको भन्दै  नेतृ झाँक्रीले सरकारको तीव्र आलोचना गरेकी हुन् । त्यही क्रममा नेतृ झाँक्रीले आफ्नै निवासबाट गिरफ्तारी दिन लागेको बताउँदै नेता-कार्यकर्तालाई सहयोग र समर्थनका लागि धन्यवाद दिएकी छिन् ।

केही समयअघि गोरखामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिबारे सोधपुछ गर्न महानगरीय अपराध महाशाखाले बोलाएको थियो । तर, उनी महाशाखामा उपस्थित नभएपछि प्रहरीको टोली उनलाई पक्राउ गर्न निवासमै पुगेको थियो ।

गोरखाको कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भुल भएको बताएकी थिइन् ।

‘राष्ट्रपतिका कुरा त के गर्नु र !  बडामहारानीले चुनाव हुन्छ भन्‍नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु- शीतल निवासको कारगेट छाडेर कोटेश्‍वर फर्किए हुन्छ । चाबहिल हो कि कता घर छ रे । त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ,’ उनले भनेकी थिइन् ।


लोकप्रिय छुटाउनुभयो कि ?