Logo

नेपाल–इजरायल सहयोग कार्यक्रमबारे कृषिमन्त्री र इजरायली राजदूतबीच छलफल

                     
Logo 2021-02-11 10:02     Desk

13

कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा अर्याल र नेपालका लागि इजरायली राजदूत हानान गोडरले नेपाल–इजरायल सहयोग कार्यक्रम एग्रीकल्चर सेन्टर अफ एक्सिलेन्सको विषयमा विशेष छलफल गरेका छन् । सिंहदरबारमा बुधबार भएकाे भेटवार्तामा अर्याल र गाेडरबीच नेपाली कृषकहरूलाई इजरायली प्रविधिबारे तालिम/प्रशिक्षणको व्यवस्था गर्ने विषयमा छलफल भएकाे मन्त्री अर्यालकाे सचिवालयले जनाएकाे छ ।

इजरायल सरकारको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त कार्यक्रम १४ असाेज २०७७ मा नेपाल र इजरायलबीच सम्झौता भएको थियो । उक्त कार्यक्रम सञ्चालनका निम्ति नेपालका तर्फबाट सह–सचिवको नेतृत्वमा स्टेरिङ कमिटी गठन भइसकेको छ । यसैगरी, इजरायलले पनि आफ्नो प्रतिनिधि छनौट गरिसकेको छ ।

मन्त्री अर्यालले इजरायलले लर्न एण्ड अर्न  अवधारणाअनुसार तीन हजार बढी नेपाली विद्यार्थीहरूलाई ११ महिने तालिमको अवसर प्रदान गरेको भन्दै उक्त तालिमबाट नेपाली विद्यार्थीहरूले प्राप्त गरेको ज्ञान, सीपले सफल उद्यमी बन्ने अपेक्षा नेपाल सरकारले लिएको बताइन् ।

नेपालका लागि इजरायलका राजदूत गोडरले इजरायलको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेकाे नेपाल–इजरायल सहयोग कार्यक्रम एग्रीकल्चर सेन्टर अफ एक्सिलेन्स कार्यक्रम सफल बनाउन इजरायल सरकारको तर्फबाट आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाए ।


लोकप्रिय छुटाउनुभयो कि ?