Logo

म्यानमार सेनाले सरकारमा सहभागी हुन गरेको आग्रह दलहरूद्वारा अस्वीकार

                     
Logo 2021-02-09 07:02     Desk

13

सत्ता हातमा लिएको म्यानमारको सेनाले सत्तामा सहभागी हुन दलहरुलाई आह्वान गरेको छ । सत्ता हातमा लिने सेनाको कदमविरुद्ध दलहरू आन्दोलित भइरहेका बेला सेनाले दललाई नै सत्ता साझेदारीका लागि आग्रह गरेको हो ।

सेनाले निर्वाचन गर्न आफूले सत्ता लिएको र त्यसमा सहयोग गर्न दलहरूलाई आग्रह गरिएको जनाएको छ । यही १ फेब्रुअरीमा म्यानमारको सेनाले सत्ता हातमा लिएको घोषणा गर्दै दलका नेतालाई नियन्त्रणमा लिएर संकटकालसमेत लागू गरेको छ ।

सेनाको कदमको विश्वभरीबाट विरोध भइरहेको छ भने देशभित्र पनि दिन प्रतिदिन विरोध प्रदर्शनमा वृद्धि भइरहेको छ । आन्दोलन चर्किरहेको बेला सेनाले सत्तामा आउन गरेको आग्रहलाई दलहरूले भने अस्वीकार गरिदिएका छन् ।

सेनाकै नियन्त्रणमा रहेकी म्यानमारकी तत्कालीन स्टेट काउन्सिलर आङ साङ सू चीले पनि सेनाका सबै कदम र आह्वान गलत भएको भन्दै अस्वीकार गरिएको बताएकी छन् । उनले सेनाको कदममा साथ नदिन र रणनीतिमा नफस्न अन्य दल तथा नेताहरूलाई पनि आह्वान गरेकी छन् ।

सेनाले भने शान्ति वार्तामार्फत समाधान खोज्न र विरोध प्रदर्शनमा नउत्रिन आग्रह गरेको समाचारमा जनाइएको छ । देशमा स्थिरताका लागि अहिलेको विरोध प्रदर्शन बाधक हुने म्यानमारको सेनाको ठहर छ ।

सेनाको तर्फबाट जारी गरिएको वक्तव्यमा देशभरि भइरहेका प्रदर्शन र विरोधप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । सेनाले स्थिरता, सार्वजनिक सुरक्षा र कानुनको पालना सुनिश्चित गर्न पनि सबैलाई अनुरोध गरेको छ ।

प्रदर्शनकारीले आङ साङ सू चीलगायतका नेताहरूलाई तत्काल रिहा गर्न माग गरेका छन् । गत नोभेम्बरमा भएको निर्वाचनपछि गठित नयाँ संसद् र त्यसपछिका प्रक्रियाप्रति सेनाले असन्तुष्टि जनाउँदै आएको थियो । त्यही असन्तुष्टिकै बहानामा सेनाले सत्ता लिएको प्रति धेरै तिरबाट विरोध भइरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?