Logo

प्रतिबन्ध फुकुवा र नेता-कार्यकर्ता रिहापछि मात्रै सरकारसँग वार्ता : विप्लव समूह

                     
Logo 2021-02-09 06:02     Desk

13

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच वार्ताको हल्ला चले पनि त्यसको अझै प्रष्ट आकार लिन सकेकाे छैन । पुर्पक्षका लागि थुनामा रहेका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई खानेपानीमन्त्री मणिचन्द्र थापाले गत मंगलबार भेट गरेपछि सरकार र विप्लव समूहबीच वार्ताको तयारी भइरहेकाे खुलेकाे थियो ।

मन्त्री थापाले सरकार र विप्लव समूह वार्ताको वातावरण भए प्रचण्ड-नेपाल समूह पनि त्यसमा सहयोगी भूमिका खेल्ने बताउँदै आएका छन् । तर, मन्त्री थापा र सुदर्शन भेटको एक सातासम्म वार्ताको कुनै औपचारिक प्रयास भने भएको छैन ।

विप्लव समूहले भने सरकारसँग वार्ता गर्न प्रतिबन्ध फुकुवा र नेता कार्यकर्ता रिहाइ गर्ने सर्त अगाडि सारेको छ । विप्लव समूहका एक नेताले सरकारले आफूहरूमाथि लगाएको प्रतिबन्ध फुकुवा र पक्राउ परेका आफ्ना नेताहरू रिहा नगरेसम्म वार्ताको कुनै सम्भावना नरहेकाे बताए ।

‘वार्ताको पहिलो वातावरण भनेको सरकारले हामीमाथि लगाएको राजनीतिक प्रतिबन्ध र पक्राउ परेका नेता/कार्यकर्ता रिहा नै हो । त्यो नहुँदासम्म वार्ताको कुराको के अर्थ भयो र ? अरु कुराको कुनै अर्थ भएन,’ ती नेताले भने । यद्यपि, अनौपचारिक ढंगबाट वार्ताका लागि केही विषयमा छलफल भएको ती नेताले स्वीकार गरे ।

प्रधानमन्त्री ओलीले ५ पुसमा संसद् विघटन गरेसँगै सत्तारुढ दल नेकपा दुई धारमा विभाजित छ । एउटा पक्षको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन् भने अर्को पक्षको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् ।

माओवादी पृष्ठभूमिका नेताहरूलाई आफ्नो समूहमा समेट्ने प्रयासस्वरूप प्रधानमन्त्री ओली विप्लव समूहप्रति केही लचिलो हुने अनुमान गरिएको छ । प्रचण्ड-नेपाल समूहलाई चिढ्याउन र सो समूहप्रति सरकार लचिलो रहेको संकेत दिन मन्त्री थापाले सुदर्शनलाई भेटेको हुन सक्ने कतिपयको बुझाइ छ ।

सरकारले विप्लव समूहले हिंसात्मक गतिविधि गरेको भन्दै २८ फागुन २०७५ मा राजनीतिक प्रतिबन्ध लगाएको थियो । हाल विप्लव समूहका दोस्रो तहका नेताहरू धमेन्द्र बाँस्तोला, हेमन्तप्रकाश वली, भरत बम, केन्द्रीय नेताहरू चन्द्रबहादु चन्द, माइला लामा, ओम पुनलगायत दर्जनौँ नेता-कार्यकर्ता पक्राउ परी पुर्पक्षका लागि थुनामा छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?