Logo

बैशाख १७ र २७ मा निर्वाचन नहोला कि भन्ने अवस्था छैन : निर्वाचन आयोग

                     
Logo 2021-02-08 12:02     Desk

13

काठमाडौं, माघ २६-निर्वाचन आयोगले सरकारले तोकेकै समयमा निर्वाचन गराउन आफुहरु सक्षम रहेको बताएको छ । अहिलेसम्मको तयारी सन्तोषजनक रहेको भन्दै बैशाख १७ र २७ गते निर्वाचन गराउन आफुहरु सबै किसिमले तयार रहेको जानकारी दिएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा फैसलाको चरणमा प्रवेश गर्न लाग्दा आयोगले निर्वाचन कार्यतालिका, दल दर्ता र आचारसंहिता प्रकाशनको तयारी गरेको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार केही दिनभित्रै निर्वाचन कार्यतालिका, दल दर्ता र आचार संहिता प्रकाशन हुँदैछ । “घोषित मितिमा नै निर्वाचन गर्ने गरी हामीले तयारी अघि बढाएका छौं । निर्वाचन नहोला कि भन्ने अवस्था छैन,” श्रेष्ठले भन्नुभयो, “घोषणा भएको समयदेखि नै हामीले निर्वाचनको तयारी शुरु गरिरहेका छौं ।”

निर्वाचन तयारीका लागि मिति घोषणा भएको दिनदेखि १२० दिन चाहिने उहाले बताउनु भयो । अब आचारसंहिता स्वीकृत गरेर कार्यान्वयन गर्ने चरणमा रहेको पनि उहाले जानकारी दिनुभयो । आयोगले निर्वाचन सामग्री जुटाउन पनि शुरु गरिसकेको छ । श्रेष्ठका अनुसार प्रचारप्रसारका साथै मतदान केन्द्रमा प्रयोग हुने स्वस्तिक छाप, मतपेटिका, सिगो, धागोसहित ५७ प्रकारका समाग्री व्यवस्थापनका लागि आयोगले तयारी थालेको छ ।

आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि अनुसार ७७ वटै जिल्लामा मतदान केन्द्रको टुंगो लगाइसकेको छ । आयोगले मतदान केन्द्र टुंग्याउन २१ पुसदेखि १७ माघसम्मको समय तोकेको थियो ।

त्यसैगरी मतदाता नामावलीअध्यावधिक पनि भइरहेको छ । मंसिर २०७६ पछि संकलन भएका नामावली स्थानीय तहसम्म पुर्‍याएर दाबी विरोधसहित अध्यावधिक गर्ने काम जिल्ला निर्वाचन कार्यालयहरुले गरिसकेका छन् । अध्यावधिक गरिएका नामावली आयोगमा पठाउन २ फागुनसम्मको मिति तोकिएको छ ।

निर्वाचनका लागि राजनीतिक दललाई प्रचारप्रसारका लागि छोटो समय दिने आयोगको तयारी छ। प्रचारप्रसारका लागि लामो समय दिंदा खर्च बढी हुने भएकाले यस्तो तयारी गरिएको आयोगका एक अधिकारीले जानकारी दिनुभयो ।


लोकप्रिय छुटाउनुभयो कि ?