Logo

संसद् विघटनविरुद्ध फागुन पहिलो साताबाट संयुक्त आन्दोलन सुरु हुन्छ : लक्ष्मणलाल कर्ण

                     
Logo 2021-02-07 10:02     Desk

13

जनता समाजवादी पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक संसद् विघटनविरुद्ध आगामी फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन गरिने स्पष्ट पारेका छन् ।

त्यसका लागि दलहरू आन्तरिक छलफलकै क्रममा रहेको उनको भनाइ छ । जनताले आफ्नो सार्वभौमसत्ताको प्रयोग आफ्ना प्रतिनिधिमार्फत गरेको बताउँदै  नेता कर्णले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको दाबी गरे ।

आइतबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा उनले भने,‘यो हाम्रो लोकतन्त्र प्रतिनिधिमूलक लोकतन्त्र हो । लोकतन्त्रको समाप्ति एक जना व्यक्ति, प्रधानमन्त्रीले गर्नुभयो । एक जना व्यक्ति, प्रधानमन्त्रीले मात्रै संसद् विघटन गरिदिएर जनताको अधिकार खोसिदिए ।’

उनले अहिलेको अवस्थामा संविधान रहने हो कि होइन ? गणतन्त्र, लोकतन्त्र, संघीयता रहने हो कि होइन भन्ने विषयमा ठूलो चुनौती आएको पनि बताए । उनले भने, ‘यो चुनौतीको सामना गर्न नेकपा दुई समूह विभाजित छ । एक समूह सडकमा छ । कांग्रेस पनि सडकमा छ । जसपा पनि सडकमा छ । नेपालमा पटक–पटक प्रतिगमन भयो ।’

नेता कर्णले प्रधानमन्त्री ओलीको प्रतिगमनको आफूहरूले विरोध गरेको बताए ।  उनले थपे,‘हामीले विरोध गरेका छौं । हुँदाहुँदै गैरसंवैधानिक तवरले संवैधानिक आयोगका नियुक्तहरू भए, र सपथग्रहण भए । कुनै संवैधानिक निकायमा कसैको नियुक्ति हुन्छ भने सर्वोच्च अदालतको न्यायाधीश, संवैधानिक निकायका प्रमुख र सदस्य, राजदूतको नियुक्ति  भयो । संविधानको धारा २९२ मा सुनुवाइपछि मात्रै नियुक्ति हुन्छ, अहिले ३८ जनाको नियुक्ति भएको छ । यो गैरसंवैधानिक छ ।’


लोकप्रिय छुटाउनुभयो कि ?