Logo

आज प्रदेश १ को प्रदेशसभा बैठक बस्दै, अविश्वास प्रस्ताव ‘टेबुल’ गरिए संसद अवरुद्ध गर्ने रणनीतिमा मुख्यमन्त्री राई पक्ष 

                     
Logo 2021-02-07 08:02     Hamro Biratnagar

13

 

विराटनगर, २५ माघ । प्रदेश १ प्रदेशसभाको बैठक भोलि आइतबार बस्दैछ । नेकपा विवाद उत्कर्षमा पुगेर विभाजन भई त्यसकै प्रभाव अनुसार प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको अवस्थामा बस्न लागेको प्रदेशसभा बैठक कसरी अघि बढ्ने भन्ने चौतर्फी चासोको विषय बनेको छ । नेकपा दुई समुहमा विभाजित भएपश्चात त्यसको असर अनुसार प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव सत्तारुढ दलकै ३७ जना सांसदहरुले दर्ता गराएका थिए ।

७ माघमा प्रदेशसभाको हिउँदे अधिवेशन सुरु भएको थियो । तर, नेकपाको विवादका कारण तीन मिनेट मात्र प्रदेशभाको बैठक सञ्चालन भएर स्थगित भएको थियो । नेकपाको विवादकै कारण ७ माघमा सभामुख प्रदिपकुमार भण्डारीले हिउँदे अधिवेशनका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पठाएको पत्र बाचन गर्दै संसद बैठक अनिश्चीत कालका लागि स्थगित गरेका थिए ।

प्रतिनिधिसभा विघटन र त्यसपछि संवैधानिक निकायमा गरिएको नियुक्तिपछि केन्द्रमा मात्र होइन प्रदेश र तल्लो तहमा पनि राजनीतिक माहौल थप तातेको छ । पार्टी विभाजन भएपछि एउटा समुहको नेतृत्व प्रधानमन्त्री केपीशर्मा ओलीले गरेका छन् भने अर्को समुहको नेतृत्व पुष्पकमल दाहाल‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् । यता प्रदेश १ प्रदेशसभामा ओलीसमुहको नेतृत्व मुख्यमन्त्री राईले गरेका छन् भने प्रचण्ड–नेपाल समुहको नेतृत्व भीम आचार्यले गरेका छन् । प्रतिनिधिसभा विघटनकै कारण नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दुइसमुहमा विभाजन भइसकेपछि प्रदेशहरुमा पनि अस्थिरताको अवस्था निम्तीएको छ ।

प्रदेश १ मा नेकपा एक्लै दुईतिहाई सहितको सरकार भएपनि विभाजन भएपछि सरकारले निरन्तरता पाउने वा ढल्ने भन्ने विषय अन्यौल छ । कानुनीरुपमा नेकपा विभाजनको टुंगो नलाग्दै प्रदेश १ प्रदेशसभामा पनि दुईसमुहले फरक–फरक दलजस्तो गतिविधि सञ्चालन गरिरहेका छन् ।

पार्टी विभाजनकै असर अनुरुप प्रदेश सरकारको नेतृत्व परिवर्तनका लागि प्रचण्ड–नेपाल पक्षका भीम आचार्यले गृहकार्य गरिरहेका छन् । मुख्यमन्त्री राईलाई हटाएर आफु मुख्यमन्त्री बन्ने योजना अनुसार आचार्य पक्षले ३७ जना सांसदको हस्ताक्षरसहितको अविश्वास प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ । तर त्यसमध्ये पाँच जना सांसदले हस्ताक्षर फिर्ता लिइसकेको अवस्था छ ।

अविश्वास प्रस्ताव दर्ता पछि एक अर्को पक्षबिच चलेको कारवाहीको जुहारीले माघ ७ गतेको प्रदेशसभा बैठक तीन मिनेटमै अनिश्चीत कालका लागि स्थगित भयो । तर त्यसपछि बैठक सञ्चालन नहुने देखेपछि अविश्वास प्रस्ताव दर्ता गराएको नेकपाको भीम आचार्य पक्ष र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभालाई लामो समय अनिर्णयको बन्दी बनाउन नहुने भन्दै सभामुख भण्डारीलाई बैठक सञ्चालनका लागि चर्को दवाव दियो । त्यसपछि सभामुख भण्डारीले २५ माघ (भोलि) का लागि प्रदेशसभा बैठक डाकेका छन् । सभामुखले प्रदेशसभा बैठक डाकेपछि सशंकित बनेको मुख्ष्मन्त्री राई पक्ष कुनै हालमा अविश्वास प्रस्ताव टेबुल गराउन नदिने रणनीतिमा छ । अविश्वास प्रस्ताव दर्ता गराएको आचार्य पक्ष र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि आ आफ्नै रणनीतिमा छन् । त्यसर्थ आइतबारका लागि बोलाइएको प्रदेशसभा बैठक कसरी अघि बढ्ला भन्ने विषय पेचिलो बनेको छ ।

नेकपाको प्रचण्ड–नेपाल समुहका आचार्य मुख्यमन्त्री राईलाई अविश्वास प्रस्ताव पारित गर्दै हटाउने कसरतमा लागेका छन् भने मुख्यमन्त्री राई अविश्वास प्रस्ताव टुबुलनै नगराई सत्ता टिकाउने अभियानमा जुटेका छन् । नेकपाका दुवै पक्षको विवादमा निर्णायक बनेको नेपाली कांग्रेसले हालसम्म ठोस निर्णय गर्न नसकेका कारण आइतबारका लागि बोेलाईएको प्रदेशसभाको बैठकमा अविश्वासको प्रस्ताव के होला भन्ने विषय पेचिलो बनेको हो ।

नेकपाको एक अर्को समुहले गरेको कारवाही तथा विवादको विषय टुंगो नलगाई सभामुखले संसद बैठक बोलाएपछि सशंकित बनेको मुख्यमन्त्री राई पक्षले कार्य व्यवस्था परामर्श समितिको बैठकबाट विवाद टुंगो लगाएर मात्र संसद बैठक सुचारु गराउनुपर्ने अन्यथा संसद बैठक अघि बढ्न नदिने रणनीति बनाएको छ । प्रचण्ड–नेपाल समुहका आचार्य पक्षले निलम्बन गरेको भनिएका नेकपा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले विवाद टुंगो नलगाई संसद बैठक अघि बढ्न नदिने बताए । ‘कार्य व्यवस्था पराशर्म समितिको बैठकमा जे निक्र्योल हुन्छ हामी त्यहि अनुसार अगाडी बढ्छौँ । हाम्रो जिकिर १६ जना निलम्बीत सांसद प्रदेशसभा बैठकमा सहभागि हुन नपाउने भन्ने रहन्छ । तर परामर्श समितिको बैठकमा अस्तिको जस्तै सहमति निस्कने सम्भावना पनि छ ।’ उनले हाम्रो विराटनगरसँग भने,‘विवाद टुंगो नलगाईकन सभामुख ज्यूले बैठक बोलाउनु हुने थिएन । तर उहाँबाट बैठक बोलाउने काम भयो । उहाँले कार्य व्यवस्था परार्श समितिको बैठकमा विवाद मिलाउनु हुन्छ भन्ने हाम्रो बुझाई हो ।’

उनले कार्य व्यवस्था परामर्श समितिको बैठकमा विवाद टुंगो नलगाई जबरजस्ति संसद बैठक सुचारु गरी अविश्वासको प्रस्तावलाई प्रकृयामा लगे संसद बैठकनै अवरुद्ध पार्ने चेतावनी दिएका छन् । ‘विवाद नमिलि बैठक सुृचारु गराउन खोजिए हामी सदन अगाडी बढ्न दिँदैनौँ ।’ उनले भने,‘बैठकमा हाम्रो पक्षको नियमापत्ति हुन्छ र संसद अवरुद्ध गछौँ ।’

यता आचार्य पक्षले भने आइतबारबाट अविश्वास प्रस्ताव ‘टेबुल’ हुने दावी गरेको छ । आचार्यले प्रदेशसभामा अन्य कार्यसुची नरहेकाले अविश्वास प्रस्ताव प्रकृया अनुसार अघि बढ्ने बताए । ‘आजको बैठक संसदको कार्य सुची अनुसार अगाडी बढ्ने हो, कार्यसुची अन्य केही भएजस्तो मलाई लाग्दैन । लोकतान्त्रीक प्रकृया अनुसार भोलिनै अविश्वासको प्रस्ताव प्रकृयामा जानै पर्छ र अघि बढ्छ भन्ने हामीलाई विश्वास छ ।’ उनले हाम्रो विराटनगरसँग भने,‘कुनै सांसदलाई प्रवेश दिन्न भन्ने कुरा वाहियत हो । लोकतान्त्रीक प्रकृयालाई अवरुद्ध पार्ने कुरा हुन् ।’

उनले अविश्वासको प्रस्ताव प्रकृयामा गएपछि नेपाली कांग्रेसले आफुहरुलाईनै साथ दिने दावी गरे ।

निर्र्णयक कांग्रेस आफै अनिर्णित

नेकपाको विवादमा निर्णयक बनेको नेपाली कांग्रेस भने अहिले सम्म आफै अनिर्णित छ ।

कांग्रेसले अविश्वास प्रस्तावको पक्ष वा विपक्षमा उभिने भन्नेमा अहिले सम्म ठोस निर्णय लिएको छैन । नेकपाको घर झगडाका कारण सत्ताको नेतृत्व गर्ने अवसर आउने ठानेको नेपाली कांग्रेस आफ्नै दाउमा छ ।

उसले नेकपाका दुवै समुहसँग समदुरी बनाएर बढी लाभ लिने रणनीति बनाएको छ । जुन समुहबाट बढी फाइदा हुन्छ कांग्रेस उतै ढल्किने निश्चीत जस्तै छ । नेपाली कांग्रेसले प्रदेशसभाको बैठक जसरी अघि बढ्छ सोही अनुसार निर्णय लिने जनाएको छ । कांग्रेस प्रमुख सचेतक केदार कार्कीले अविश्वासको प्रस्ताव प्रकृयामा गएपछि मात्र निर्णय लिने बताए ।

उनले एउटै दलभित्रको विवादका कारण संसदलाई अनिर्णयको बन्दी बनाउन नहुने बताउँदै संसद बैठक सुचारु गराउनुपर्ने बताए । ‘अविश्वास प्रस्ताव टेबुल भएपछि कांग्रेसले निर्णय गर्छ । अहिलेनै हामीले निर्णय गर्न हतारो छैन । प्रस्ताव फिर्ता हुन्छ वा अगाडी जान्छ हेरेर निर्णय हुन्छ ।’ उनले हाम्रो विराटनगरसँग भने,‘अविश्वास प्रस्ताव प्रतिपक्षी दलको सम्पत्ति हो । जहिल्यै अविश्वासको प्रस्ताव प्रतिपक्षीलेनै ल्याउने हो । सत्ता पक्षलेनै प्रस्ताव ल्याएपछि हामीले किन ल्याएको भन्ने कुरा आउँदैन । हामीले विरोध गर्दै आएका कुरालाई त्यहि पार्टीबाट आएपछि हाम्रो लागि त सकारात्मक कुरा हो । त्यसैले प्रस्ताव टेबुल भएपछि हामी निर्णय लिन्छौँ ।’

  • प्रदेशसभाको बैठक आज दुई बजेका लागि डाकिएको भएपनि अहिलेसम्म कार्यसुची तय नभएको पाइएको छ । प्रदेशसभाको बैठक अघि बिहान ११ बजे बस्ने कार्य व्यवस्था पराशर्म समितिको बैठकले कार्यसुची तय गर्ने सभामुख भण्डारीले हाम्रो विराटनगरलाई जानकारी दिए । ‘ पहिले कार्य व्यवस्था समितिको बैठक बस्छ ।’ उनले भने,‘त्यसपछि मात्र कार्यसुचि तय हुन्छ ।’


लोकप्रिय छुटाउनुभयो कि ?