Logo

डाक्टरलाई कुटपिट गरेको आरोपमा विराटनगरमा पक्राउ परेका तरूण दल कोषाध्यक्ष हिरासतमा

                     
Logo 2021-01-27 09:01     Desk

13

विराटनगर, १४ माघ । एक महिला डाक्टरलाई कुटपिट गरि हात भाँचिदिएको  आरोपमा पक्राउ परेका नेपाली कांग्रेसको भातृसंगठन तरूण दल मोरङका  कोषाध्यक्ष अनिल रिजाललाई हिरासतमा राखिएको छ । नेपाली कांग्रेसको युवा नेता भएकै कारण पहुँचका आधारमा केही समय अस्पताल बसेका रिजाललाई हिरासतमै राखिएको हो ।

बयान लिने क्रममा अचानक स्वास्थ्यमा समस्या देखिएपछि विराटनगरस्थित कोशी अस्पतामा मंगलबार रिजालको स्वास्थ्य परिक्षण पश्चात उनलाई हिरासतमै राखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काले जानकारी दिए । ‘अभद्र व्यवहारमा जाहेरी परेपछि उहाँलाई पक्राउ गरेर ५ दिनको म्याद थप गरिएको छ ।’ उनले भने,‘हिँजो बयानको क्रममा अस्वस्थ भएर हस्पिटल लगिएको थियो । स्वास्थ्यमा समस्या देखिँदा अस्पताल ल्याउने लाने भइरहेको छ । स्वास्थ्य अवस्था नर्मल हुनेवित्तिकै हिरासतमै राखेका छौँ ।’

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत बस्नेत थरकी नाक, कान घाटी रोग विशेषज्ञलाई कुटपिट गरि हात भाँचिदिएको रिजाल माथि आरोप छ । डा. बस्नेतले प्रहरीमा जाहेरी दिएपछि रिजाल फरार भएका थिए । रिजाल सोमबार आफैँ जिल्ला प्रहरी कार्यालय हाजिर भएका थिए ।

नेता रिजालको कुटाइबाट डाक्टर बस्नेतको शरिरको विभिन्न भागमा चोटपट लागेको भने दाहिने हातको साइँली औँला भाँचिएको छ । चिकित्सक बस्नेत बस्ने कोठामा गएर नेता रिजालले कुटपिट गरेको आरोप छ ।

रिजालले डा. बस्नेतको लाखौं रुपैयाँ पनि लगेको बुझिएको छ । विराटनगरमा होलसेलको पनि डिर्लर संचालन गर्ने रिजाल व्यापारमा लगानी गर्न पैसा आवश्यक परेको भन्दै चिकित्सक बस्नेतबाट लाखौं रुपैयाँ लिएको श्रोतले जनाएको छ । सापटी दिएको पैसा र अन्य विविध कारणले गर्दा रिजालले कुटपिट गरेको प्रहरीले जनाएको छ । डा. बस्नेत आर्थिक रुपले सम्पन्न भएकै कारण रिजाल उनिसँग नजिकिएका थिए । उनीहरुबिच लेनदेनकै कारण पछिल्लो समय विवाद सुरु भएको श्रोतले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?