Logo

विराटनगरमा एकैदिन ८ जनाको संक्रमणका कारण ज्यान गयो 

                     
Logo 2020-11-04 02:11     अभिमन्यु अभिजित

13

तस्बिर ः खेमराज गौतम

विराटनगर । कार्तिक १९

गत २४ घण्टामा विराटनगरमा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । विराटनगरका तीनवटा अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो।

 

जसमा विराट शिक्षण अस्पतालमा चार, नोबेलमा एक, न्युरो अस्पतालमा दुई र कोशी अस्पतालमा एक जनाको मृत्यु भएको हो । मृतकहरू सबै प्रायः दीर्घरोगी रहेको जनाइएको छ।

 

 

 

नोबेल अस्पतालमा विराटनगर महानगरपालिका–१५ की ५५ वर्षीया महिलाको मृत्यु भएको छ । ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि म‌ंगलबार बिहान अस्पताल लगिएको थियो ।

 

बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा सुनसरीको इनरुवा नगरपालिका–१ की ४५ वर्षीया महिलाको मृत्यु भएको हो । सोही अस्पतालमै विराट शिक्षण अस्पतालको आइसोलेसनमा सिराहा सुखीपुरका ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

 

उता इटहरी उपमहानगरपालिका–३ का ४८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको सोमबार साँझ ७ बजेतिर उनको मृत्यु भएको हो । साथै विराटमै उपचाररत धरान–१६ का ७६ वर्षीय वृद्ध पुरुषको पनि मंगलबार बिहान मृत्यु भएको छ । कोरोना रिपोर्ट पोजेटिभ आएपछि कात्तिक ९ गते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

 

त्यस्तै धरान–१५ का ६३ वर्षीय पुरुषको मंगलबार बिहान ३ः३० बजेतिर न्यूरो अस्पतालमा मृत्यु भएको छ । कोरोना परीक्षण गराउँदा असोज १७ गते कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको पनि पछि न्यूरोमा ल्याइएको थियो। मृतक धरानमा भएको मेयरको उपनिर्वाचनका मेयरका उमेदवार थिए। जनता समाजवादी पार्टीको लिम्बूवान राष्ट्रिय समितिका उपाध्यक्ष समेत हुन् ।

 

न्यूरो अस्पतालमै उपचाररत विराटनगर महानगरपालिका–११ का ४९ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको छ । उपचारका क्रममा बिहान ३ः५० बजेतिर उनको मृत्यु भएको हो ।

 

विराटनगरकै कोशी अस्पतालको कोरोना उपचार केन्द्रमा उदयपुरका एक पुरुषको पनि मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी–६ का ४८ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार राति १२ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ।

 

 


लोकप्रिय छुटाउनुभयो कि ?