Logo

शनिबार प्रदेशभर २२२ जना संक्रमित थप, विराटनगरमा मात्रै १०५ जना

                     
Logo 2020-10-31 05:10     अभिमन्यु अभिजित

13

विराटनगर। कार्तिक १५

विराटनगरमा १०५ जना सहित प्रदेश १ मा आज २२२ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १२६, सुनसरीमा ५८, झापामा २९, इलाममा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा संक्रमण पुष्टि भएकामा ५५ महिला र ५० पुरुष छन् । मोरंगको बुढीगंगामा ५, पथरीशनिश्चरेमा ४, सुन्दरहरैचामा ३, सुनबर्षी, लेटाङ र जहदामा २–२, केराबारी, रंगेली र बेलबारीमा १–१ जना छन् ।

सुनसरीको धरानमा ३३, इटहरीमा १२, इनरुवामा ७, बराहक्षेत्रमा ३, बर्जु, गढी र दुहवीमा १–१ जना, झापाको दमक र विर्तामोडमा ६–६, कनकाईमा ५, मेचीनगरमा ४, बुद्धशान्ति र भद्रपुरमा २–२, हल्दीबारी र शिवसताक्षीमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएका छन् ।

साथै इलामको इलाम, माई र चुलाचुलीमा १–१, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको हाे । याेसँगै प्रदेश १ मा कोरोना संक्रमितको कूल संख्या १९ हजार १७५ पुगेको छ ।

प्रदेशमा आज ३२ जना डिस्चार्ज भएका छन् जसमा होटल एशियाटिक आईसोलेसनबाट १४, विराट मेडिकल कलेजबाट ९, न्युरो अस्पतालबाट ५, मेची अस्पतालबाट ३, कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट १ जना डिस्चार्ज भएका हुन् ।

हालसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ८५० पुगेको छ भने प्रदेशमा आज ८०३ जनाको पीसीआर परीक्षण गरिएको थियाे । परीक्षण गरिएका मध्ये १०५ महिला र ११७ पुरुषको रिपोट पोजेटिभ आएको हो ।

हालसम्म १ लाख ५९ हजार ७५१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ भने १८३ जनाले ज्यान गुमाइसकेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?