विराटनगर । असोज १८
नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतीय सैनिकहरूको उपस्थिति बाक्लिदै गएको छ । भारतले अतिक्रमण गर्दै आएको यो क्षेत्रमा नेपालीलाई समेत प्रतिबन्ध लगाउँदै भारतीय फौजले अखडा जमाएको छ ।
यि क्षेत्रमा भारतीय चार सुरक्षा निकायका आधुनिक हतियारसहित ११ क्याम्प खडा भएका छन्। त्यहाँ भारतीय सेना, सीमा सुरक्षा बल 'एसएसबी' भारत–तिब्बत सीमा प्रहरी 'आईटीबीपी' पहिलैदेखि तैनाथ रहेकोमा अहिले फेरि गोर्खा सैनिक पनि खटाइएका छन् ।
चीनतर्फको सुरक्षा संवेदनशीलतालाई आधार बनाएर उक्त क्षेत्रमा भारतीय सुरक्षा फौज विस्तार गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। नाकामा एसएसबीका मात्रै १९ पोस्टहरू रहेका छन् ।
उक्त क्षेत्रमा नाइटभिजन हेलिकप्टर र सैनिक विमानसमेत देखिने गरेको व्यासका बासिन्दाले बताएका छन्। अतिक्रमित कालापानी, नाभीडाङ, गुञ्जी, कुटी लगायतका स्थानमा स्थानीय बासिन्दाकै हाराहारीमा सुरक्षा फौज तैनाथ रहेको जनाएका छन् ।