१६ जनालाई जिउँदै ईट्टाभट्टामा हालेको स्वीकार
विराटनगर। असाेज १७
पहिलो संविधानसभा निर्वाचन ताका रौतहटमा भएको हत्याकाण्डमा संलग्न एकजना पक्राऊ परेका छन् । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिकाका ५५ वर्षीय बद्री सहनी रहेका छन् ।नेपाल-भारत सीमाको बौधीमाई नगरपालिका ७ बडकी बंगल क्षेत्रबाट लुकीछिपी बसेकाे सूचनाका अाधारमा पक्राउ गरेको हो ।
प्रदेश २ का डिआइजी धिरजप्रताप सिंहका अनुसार उनीमाथि तत्कालिन संविधानसभा निर्वाचनका उम्मेदवार तथा हालका निलम्बित सांसद मोहम्मद आलमको निर्देशनमा बम बिष्फोटबाट घाइते भएकालाई जिउँदै ईट्टाभट्टामा हाल्ने कार्यमा संलग्न भएको आरोप छ ।
घटनापछि बेपत्ता पिन्टु भनिने त्रिलोकप्रताप सिंहका पिता श्रीनारायण सिंह राजपुतको जाहेरीमा सहनी पक्राउ परेको प्रहरीकाे भनाइ छ ।
तत्कालीन २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन २७ चैत्रमा बुथ कब्जा गर्ने उद्देश्यले बमको व्यवस्था गरिरहँदा पूर्वमन्त्री शेख इद्रिसको गोठमा बम बिष्फोट भएकाे थियाे । साे क्रममा मृत्यु भएका र घाइतेलाई ईंट्टाभट्टामा हालिएको खुलेको थियो भने एक दर्जनभन्दा बढी बेपत्ता भएका थिए ।
पक्राउ परेका सहनीले आलमको निर्देशनमा मृतक ३ जना र घाइते गरी १६ जनालाई ट्याक्टरमा हालेर ईट्टाभट्टाको मुग्रोमा हालेको बयान दिएको प्रहरीले बताएकाे छ। सहनी पक्राउले घटनाको वास्तविकताबारे थप तथ्य उजागर भएको हाे ।
हाल घटनाका अभियुक्त निलम्बित सांसद अफताव आलम हाल र्पुपक्षका लागि थुनामा छन् तापनि उनले घटना नै नभएको दाबी गर्दै आएका छन् ।